मर्मतसम्भारका लागि ७ दिन मनकामना केबुलकार बन्द

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस १५, बुधबार,०८:३४:AM  
मर्मतसम्भारका लागि ७ दिन मनकामना केबुलकार बन्द

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको  हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । 

कोरोनाको महामारीसँगै नौ महीना बन्द रहेको केबुलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवम् भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायव महाप्रबन्धक शेरचनले बताए ।    
 
यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको उनको भनाइ छ । 

नियमित मर्मतसम्भारपछि पुस २१ गते मंगलवारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।  

मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिए । 

उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर  दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको  इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ । 

सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top