काठमाडौं । तेस्रो मुलुकबाट आउने कार्गोको ढुवानीमा सिपिङ कम्पनीले मनपरी भाडा र शुल्क लिन थालेपछि नेपालको उत्पादन महँगो भएको छ । नेपाली व्यवसायीले यस्तो खर्च ४० प्रतिशतसम्म बढी भुक्तानी गर्नु परेकाले स्वदेशको उत्पादन महँगो भएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका पूर्वअध्यक्ष अशोक टेमानीले बताए ।
समुद्रपार व्यापारमा तटीय देशका व्यवसायीले वस्तुको मूल्यको तुलनामा पारवहनको लागत ५ देखि १० प्रतिशत तिर्छन् । मनपरी ढुवानी खर्च बढाउँदा एकातिर उत्पादनलागत बढी भयो भने अर्कोतिर विदेशबाट आउने सामानसँग प्रतिस्पर्धा गर्न समस्या भएको उद्योगीहरूले बताएका छन् ।
४० प्रतिशतसम्म ढुवानी खर्च बढाएपछि त्यसको असर उत्पादन मूल्यमा पर्ने उद्योगीहरूको भनाइ छ । ‘१ सय रुपैयाँको कच्चापदार्थ ल्याउँदा त्यसमा ढुवानी खर्च नै ४० रुपैयाँसम्म थपिएको हुन्छ । त्यसलाई तयार पार्दा अरू १० प्रतिशत खर्च आउँछ । यस्तो अवस्थामा स्वदेशी उत्पादन महँगो हुनुका साथै बाह्य वस्तुसित प्रतिस्पर्धा गर्न सक्दैनन्,’ टेमानीले भने ।
सामान्यतः समुद्रसँग जोडिएका मुलुकको तुलनामा भूपरिवेष्टित देशको पारवहन खर्च २० प्रतिशसम्म महँगो हुने सरकारी अधिकारीहरूको अनुमान छ । यस आधारमा स्वदेशी उत्पादनको उत्पादन लागत आयातित वस्तुको तुलनामा २० प्रतिशत कम हुनुपर्ने उद्यमी बताउँछन् ।
आयातमा आधारित अर्थतन्त्रमा ढुवानीको लागत बढी हुनु चिन्ताको विषय भएको उद्योगीहरूको भनाइ छ । ‘पारवहनमा लाग्ने उच्च खर्च हाम्रो बढ्दो व्यापार घाटाको एउटा मुख्य कारण पनि हो । सरकारले ट्रान्ससिपमेन्ट प्रणाली त लगायो ।
तर, यसको आडमा भइरहेको बेथिति हटाउन प्रभावकारी कदम चाल्न सकेन,’ वीरगंज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले भने, ‘सरकारले सिपिङ कम्पनीमाथि नियन्त्रण गर्न नसक्दा जथाभावि रूपमा मूल्य बढाएको र त्यसको असर उपभोक्ता र देशमाथि नै परेको हो ।’