चितवन। जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीलाई लक्षित गर्दै राज्यले भैपरी खर्च उपलब्ध गराउन लागेको छ। सोहीअनुसार प्रदर्शनका क्रममा जिल्ला र जिल्ला बाहिर भएका झडपमा परेका जिल्लावासीलाई भैपरी खर्च उपलब्ध गराउन थालिएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा भैपरी खर्च र परिचयपत्र वितरणको काम थालिएको छ।
कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएका बिरामीले टिकट/पुर्जी /डिस्चार्ज कागजात/उपचार खर्चको बिल भर्पाई, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाता खुल्ने चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ।
परिचय पत्रको अभिलेखमा हस्ताक्षर र औँठा छाप गर्नुपर्ने भएकाले घाइते स्वयम् उपस्थित हुन उनले आग्रह गरे। यो परिचय पत्र प्राप्त गरेका व्यक्तिले राज्यबाट विभिन्न किसिमका सुविधा प्राप्त गर्न सक्ने छन्।
चितवन जिल्ला स्थायी ठेगाना भएर अन्य जिल्लामा घाइते भएकालाई समेत यस कार्यालयबाट भैपरी खर्च र परिचय पत्र वितरण गरिने उनले जानकारी दिए। उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा चितवनमा १२३ जना घाइते भएको विवरण कार्यालयसँग छ।
गृह मन्त्रालयले चितवनसहित अन्य जिल्लामा भएका घाइतेहरु १४२ जनामा नामावलीसहित भैपरी खर्चबापत २० हजारका दरले खर्च पठाएको उनले बताए।
प्रदर्शनका घाइतेहरूको नामावली छुटेको अवस्था रहेको भए पुनः गृह मन्त्रालयमा पठाउने गरी काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए।
अहिले राज्यले प्रारम्भिक चरणमा भैपरी खर्च र परिचय पत्रको व्यवस्था गरेको जनाउँदै उनले जेनजी प्रतिनिधिको उपस्थितिमा दुवै काम गरिने उल्लेख गरे।