काठमाडौं । कृषिका प्राथमिक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णयविरुद्ध विभिन्न कृषि उद्यमीहरुको राष्ट्रिय संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
कृषि क्षेत्रमा विदेशी लगानीविरुद्ध विभिन्न १५ वटा कृषि उद्यमी तथा संघ-संस्थाले एक्येवद्धता जनाएर प्रदर्शन गरेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लाई संशोधन गर्दै सरकारले गत पुस २० गते राजपत्रमा प्रकाशित गर्दै कृषिका प्राथमिक क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध विभिन्न कृषि उद्यमीहरुले संयुक्त रुपमा शान्तिपूर्ण विरोध सुरु गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा सबै कृषि उद्यमी तथा व्यवसायी, किसान र सरोकारवाला निकायले विरोध प्रदर्शनमा उत्रिएका छन् ।
अण्डा उत्पादक संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक शिवराम केसीको संयोजकत्वमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनमा आएका उद्यमी तथा किसानहरुले आफ्ना कृषि उपजहरु प्रदर्शन गरेका थिए । त्यस्तै, कृषि उद्यमीहरुले विभिन्न पर्चासँगै विभिन्न नारा लेखिएको पोष्टरहरु देखाउँदै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा आएका उद्यमी तथा किसानहरुले विदेशी लगानी चाहिँदैन स्वदेशी किसान मार्न पाइँदैन,स्वदेशी लगानीको संरक्षण गरी आत्मनिर्भर बनौं, राज्य किसान देख्दैन कृषि मैत्री ऐन लेख्दैन, कृषिमा विदेशी लगानी, स्वदेशी किसान कता जानी ?, सरकार के गर्दैछ स्वदेशी किसान मार्दैछ लेखिएका पम्प्लेट लिएर विरोध गरिरहेका छन् ।
दिगोपनामा आधारित आत्मनिर्भरमुखी खेती प्रणालीको संरक्षण गर्न, स्वदेशी साना लगानीकर्ता किसान र उद्योगीको संरक्षण गर्न र साना किसान उद्यमीको रोजीरोटी र जीविकोपार्जन सार्थ पर्यावरण असर पर्न नदिन कृषि क्षेत्रमा विदेशी लगानी आवश्यक नहुने भएकाले आन्दोलन गर्नुपरेको डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।
थप
expand_moreकम
expand_less