तनहुँ। म्याग्दे गाउँपालिकाका महिला सयपत्री फूल खेतीमा लागेका छन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिला फूल खेतीमा आकर्षित भएका हुन्।
यहाँका महिला छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूल खेतीमा लागेका हुन्।
तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिला पहिलोपटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन्।
अध्यक्ष रानाले भनिन्, ‘पहिला पहिला अरुले सामूहिक खेती गरिरहेकोबारे फेसबुकमा हेथ्र्यौं। हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो। गाउँपालिकामा यसबारे जानकारी लियौं। पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलोपटक यसतर्फ लागेका हौँ।’
समूहमा रहेका २३ महिलाले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन्। यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन्। उनका अनुसार सयपत्री फूल प्रतिकिलो ३ सय र प्रतिमाला १५० मा बिक्री हुने गरेको छ।
घरायसीमा काममा व्यस्त रहने महिलालाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन्। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए। गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलालाई सहयोग गरिएको उनको भनाइ छ।
‘स्थानीय महिलालाई उद्यमशील बनाउन पालिकाले सहयोग गरिरहेको छ। उनीहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीय स्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ’, अध्यक्ष श्रेष्ठले भने।–रासस