काठमाडौं । उत्पादनमुलक क्षेत्रमा लगानी जुटाउनका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रकृया थालेकाे छ ।
एनआरएन डेभलपमेन्टमा लगानी जुटाउन प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साढे ८ अर्ब रुपैयाँ बराबरको साढे ८ करोड कित्ता आईपीओ निष्कासन हुनेछ ।
यो पनि हेर्नुहोस
पूर्वाधारमा लगानी गर्न १० अर्बको एनआरएन कोष सञ्चालनमा ल्याउने तयारी, सरकारको ५ प्रतिशत लगानी
आईपीओ विदेशमा रहेका एनआरएनहरुका लागि मात्र हुनेछ । पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी विदेशबाट ल्याउनका लागि फण्ड स्थापना भएको छ । जसमध्ये डेढ अर्ब रुपैयाँको स्वपुँजी र बाँकी आईपीओबाट जुटाइने भएको छ । बिहीबारदेखि विधिवतबाट लगानी प्रतिवद्धता भएको छ । एनआरएनको पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका छन।
यो कम्पनीमार्फत नेपालमा १० अर्ब रुपैयाँ लगानी ल्याउने तयारी छ । १० अर्बको कोषमा सरकारले ५ प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको पन्तले बताए। यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले जानकारी गराए । नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । १० देखि १२ लाख वटा डिम्याट खातालाई नेपालसंग जोड्ने प्रयास हुने भएको छ ।

यो नेपालको सेयर बजारका लागि नयाँ आयम हुने एनआएनको भनाई छ । यो रकम नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायत पूर्वाधारका विभिन्न क्षेत्रमा लगानी हुनेछ । विदेशमा रहेका नेपालीबाट लगानी जुटाउने यो नयाँ माध्यम हुने बताइएको छ । स्थापना भएको कोषमा सरकारको तर्फबाट पूर्व सहमति बमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।
हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए। कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको उनको भनाई छ ।उनले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रह समेत गरे।
यस्तै कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे । नेपालमा लगानी गर्न चाहने हर कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने बताए।
यस्तै अध्यक्ष पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए।
हस्ताक्षर समारोहमा क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, एनआरएनए स्र्पोस् एकेडेमीका उप संयोजक धर्मराज गिरी, एनआरएनए सांस्कृतिक तथा सम्पदा समितिका संयोजक, गोविन्दप्रसाद गौतम, एनसीसी चीनका अध्यक्ष प्रदिप न्यौपाने तथा महासचिव यमबहादुर क्षेत्री, तान्जानियाका अध्यक्ष पुष्पराज भट्टराई, परामर्शदाता अनलराज भट्टराई, कानूनी परार्मशदाताका प्रतिनिधि र संघका कार्यकारी निर्देशक राजेश राणा लगायतको उपस्थिति थियो ।