बुधबार, असार २ २०७८ ०७:२८ PM

×

‘नबिल स्किल हिरो अवार्ड २०२१’ बाट फरक क्षेत्रमा याेगदान पुर्याउने ४ जना सम्मानित 

images

काठमाडौं । ‘नबिल स्किल हिरो अवार्ड-२०२१’ बाट फरक क्षेत्रमा योगदान पुर्याएका ४ जना सम्मानित भएका छन् । ‘स्किल’लाई विकास गर्ने लक्ष्यका साथ ‘सीपले सम्मान सीपको सम्मान’ भन्ने नाराका साथ यस वर्षको स्किल्ल विक कार्यक्रम सञ्चालन गरिएको हो । 

कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँग साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिलगायतको उजागर गर्ने उद्देश्य रहेको छ । 

कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गरेर सम्मानित हुनेमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधिको क्षेत्र रहेका छन् ।

कफी उद्योगमा आफ्नो आफ्नो छुट्टै पहिचान बनाएर कफीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गगन प्रधान पर्यटन र आतिथ्यतर्फ नबिल स्किल हिरोको रूपमा सम्मानित भएका छन् । प्रधान हिमालयन जावाका सञ्चालक तथा एमडीसमेत हुन् । 

त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोकवाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएकाले सम्मानित गरिएको छ । 

उद्यमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढा  सम्मानित भएकी छन् । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सहकार्यबाट सीप विकास र आर्थिक सशक्तीकरणको पहल गरेर हजारौं महिला तथा परिवारलाई प्रभाव पारेकी छन् ।

त्यसैगरी, विज्ञान र टेक्नोलोजीका लागि कारखानाका सह–संस्थापक एवं सीईओ पवित्र गौतमलाई सम्मानित गरिएको छ । उनलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रम निर्माण गरी  प्रभावकारी शिक्षा सिर्जना गर्ने, निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजीसँग जोड्ने मञ्च बनाएकाले सम्मान गरिएको हो ।  

स्किल विक २०२१, दोस्रो संस्करण सोमबार सोल्टी क्राउन प्लाजामा सञ्चालन भएको थियो । २१ मार्च देखि २९  मार्चसम्म सञ्चालन भएको कार्यक्रमा सीपमूलक तालिम, सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरञ्जनलाई मध्यनजर गरी विभिन्न तरिकाबाट प्रस्तुत गरिएको थियो । 

स्किल विक र नबिल स्किल हिरो अवार्ड-२०२१ को समापन सत्रमा मुख्य किनोट स्पिकरको रूपमा शैक्षिक सुधारक तथा दूरदर्शी सोनम वांगचुकको उपस्थिती थियो । वांगचुककै जिवनमा आधारित रहेर उनको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्षक रुपमा थ्री इडीयड्स एक बलिवुड चलचित्रमा देखाइएको छ ।

सोही दिन सञ्चालन गरिएको ‘सीईवो अनप्लग्ड २०२१’ कार्यक्रममा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व तथा नव आगन्तुक व्यापारीलाई मार्गदिशा प्रदान गर्न २ प्यानेल छलफल गरिएको थियो ।

सीईओ ‘अनप्लग्ड’को पहिलो प्यानल छलफल ‘वर्कफोर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ’ शीर्षकमा सञ्चालन भएको थियो । दोस्रो प्यानलमा ‘स्किल्स फर पोस्ट पेनडेमिक वर्लड’ शीर्षकमा नेपालको सीप नीति, महामारीपछि भविष्यका सीप विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजीकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्ने छलफल भएको थियो । 

उक्त कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा सञ्चालन भएको थियो । 

मङ्गलबार १७ चैत २०७७ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया