जहाज र उडान दुवै थप्दै बुद्ध एयर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २३, साेमबार,०४:२८:PM  
जहाज र उडान दुवै थप्दै बुद्ध एयर

काठमाडौं । आन्तरिक उडानमा अग्रणी कम्पनी बुद्ध एयरले जहाज उडान संख्यासमेत थप्दै गएको छ । कोरोना भाइरस (कोभिड-१९) सुरु हुनुअघि भन्दा अहिले बुद्धले धेरै उडान गरिरहेको छ ।

दैनिक  ६ हजार ५ सय जनासमेत उडान गर्दै आएको बुद्धले वैशाख भित्रै नयाँ एटिआर जहाज थप्ने भएको हो । बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दिपेन्द्र कर्णले वैशाखभित्र नयाँ एटिआर जहाज थप गरेर १५ वटा पुर्याउने बताए ।

यात्रुहरुको उत्साहजनक उपस्थितीलाई मध्यनजर गरी जहाज थप गर्न लागेको उनले बताए । कुनै पनि यात्रुलाई कुनै पनि समयमा जहाँ जान पनि समस्या नहोस भन्ने उद्धेश्यले उडानसंख्या समेत बढाएको उनको भनाई छ । ‘समय यात्रुको उडान हाम्रो’ भन्ने नारा बुद्धको रहेकोले त्यही अनुसारको सेवा सुविधा दिन तल्लीन रहेको उनले बताए ।

जहाज मर्मतको क्रममा समेत कुनै पनि उडान तालिका भन्दा फरक नपरोस भन्ने सोचका साथ बुद्धले जहाज थपिरहेको बताइएको छ । सस्तो भाडा दर भएकै कारण बसमा यात्रा गर्नेहरु पनि जहाजमा आएकोले उडान संख्या धेरै बनाउनु परेको जनाएको छ ।

सस्तो भाडामा उडान गरेपछि त्यही अनुसारको संख्यासमेत थप गर्दै लगेको जनाएको छ । कुनै पनि यात्रुले चाहेको बेला जुनसुकै गन्तव्यमा पुग्न सक्ने गरी आफूहरुको जहाज तयारी अवस्थामा रहने बताइएको छ ।

यात्रुको संख्या बढेसँगै दोब्बर उडान संख्या बढाएको छ । बुद्धले यसअघि विराटनगरमा दैनिक ४ वटा उडान गर्दै आएकोमा हाल ८ वटा बनाएको छ ।

यस्तै भद्रपुरमा पहिला २, अहिले ५, जनकपुरमा पहिला २ अहिले ४, सिमरामा ६, भरतपुरमा पहिला ३ अहिले ६,पोखरामा पहिला ५ अहिले ९, भैरहवामा पहिला ५ अहिले ९,नेपालगन्जमा पहिला ३ अहिले ५, नेपालगन्जमा पहिला ३ अहिले ५ र धनगढीमा पहिला २ अहिले ३ उडान गरिरहेको जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानमा बुद्ध एयरको बजार हिस्सा सबैभन्दा बढी छ। जनवरीमा मात्रै बुद्ध एयरले १ लाख २६ हजार ३ सय जनालाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ । यो संख्या कुल हवाई यात्रुको संख्याको आधारमा ५४.९३ प्रतिशत हो।

जनवरी र फेब्रुअरी महिनामा मात्रै आन्तरिकतर्फ ११ हजार ४९६ वटा उडान र अवतरण भएका छन् । फेब्रुुअरी महिनामा बुद्धले १ लाख ६० हजार ७६८ यात्रुलाई सेवा दिएको थियो । यो संख्या कुल संख्याको ५६.१२ प्रतिशत हो । फेब्रुअरीमा आन्तरिक तर्फ २ लाख ८६ हजार ४ सय ४८ जनाले आन्तरिक हवाई यात्रा गरेका थिए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top