काठमाडौं। नेपालमा लम्पी स्किन रोगको प्रकोप बढ्दो क्रममा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार असार ६ देखि साउन २० गतेसम्म देशभरका २९ जिल्लामा लम्पी स्किन रोग फैलिएको छ।
यसबाट अहिलेसम्म २७ हजार ४ सय २५ पशु प्रभावित भएका छन् भने ८ सय ४६ पशुको मृत्यु भएको छ। ५ लाख ६१ हजार ७५१ डोज लम्पी स्किनविरुद्धकाे खोप लगाइएको छ।
कोशी प्रदेशका ११ जिल्लामा २२ हजार १२२ पशु प्रभावित छन्। जसमध्ये ६३७ पशुको मृत्यु भएको छ। ३ लाख १२ हजार ६४१ खोप लगाइएको छ। संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुमा रोग पुष्टि भएको छैन।
मधेस प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशु प्रभावित छन्। १७९ को पशुको मृत्यु भएको छ। १ लाख ६७ हजार ६७४ खोप लगाइएको छ। मधेसका सबै जिल्लामा लम्पी स्किन रोग देखा परेको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशका ५ जिल्लामा ७ सय ९३ पशु प्रभावित छन्, ३० पशुको मृत्यु भएको छ। ५९ हजार ९ सय ७४ डोज खोप लगाइएको छ। मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, र धादिङमा यो रोग देखिएको छ।
गण्डकी प्रदेशकाे गोरखामा मात्रै यो रोग देखा परेको छ। यो रोग ७० पशु प्रभावित छन्, कुनै पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा यो रोग देखा परेकाे छैन। अर्थात, हालसम्म यो प्रदेश लम्पी स्किनबाट सुरक्षित छ।
लुम्बिनी प्रदेशका ३ जिल्लामा १६ पशु प्रभावित छन्, कुनै पनि मृत्यु भएको छैन। २१ हजार ४ सय ६२ डोज खोप लगाइएको छ। नवलपरासी पश्चिम, कपिलवस्तु र रोल्पामा रोग देखिएको छ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा मात्रै रोग देखिएको छ। तर, के कति पशु प्रभावित भएका छन् यकिन भइसकेको छैन। सुदूरपश्चिम प्रदेशमा हालसम्म रोग पुष्टि भएको छैन।