काठमाडौं । कोभिड संक्रमणको त्रास देखाएर ह्वात्तै घटाइएको सेयर बजार सोमबार कारोबार खुलेको एक घण्टापछि ह्वात्तै बढाइए पनि फेरि त्यसैगरी घटाइएको छ ।
सोमबार कारोबार खुल्दा २५७१ अंकमा रहेको बजार १२ बजेर १९ मिनेटमा जाँदा २५७८ अंकमा पुर्याइए पनि साढे १२ बज्दा २५३० मा झारिसकिएको छ ।
कारोबार खुलेको १२ मिनेटमै बजार घटाएर २५२० मा झारिएको थियो । त्यसपछि झण्डै ५० मिनेट २५१६ सम्म घटाएर कारोबार भए पनि कारोबार खुलेको १ घण्टा पछि भने बजारले बढ्ने रफ्तार समाए लगत्तै फेरि घट्ने रफ्तार पक्रेको हो ।
डेढ घण्टामा २ अर्ब ३६ करोडको कारोबार भएको छ । १ घण्टापछिको बजार उकालो चढ्ने क्रममा छ । बैंकिङ,होटल एण्ड टुरिजम,निर्जीवन बिमा,जीवन बिमा,लघुवित्त,उत्पादनमूलक तथा प्रशोधनमूलक उपसमूह सकारात्मक भएपछि बजार उकालो चढे पनि फेरि सबै समूह राताम्मे भएका छन् । कारोबार सुरु हुने बित्तिकै यी सबै समूह सूचक राताम्मे थिए ।
कोरोना त्रास देखाएर आइतबार करिब ७६ अंकले बजार घटाइएको थियो । कोरोना त्रास कायम रहेपनि बन्दाबन्दी(लकडाउन) गर्ने नगर्ने सरकारले निर्णय गरिसकेको छैन ।
यदपी,सरकारी पक्षले स्थीति हेरेर आंशिक बन्दाबन्दी हुन सक्ने भएपनि पूर्ण रुपमा लकडाउन नगर्ने बताउँदै आएको छ । तीब्र चलखेल भएको बेला लगानीकर्ता जुनसुकै बेला फस्न सक्छन् । निकै चनाखो भएर कारोबार गर्नुपर्छ ।
खासगरी कोरोना त्रासकैबीच सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सकारात्मक प्रकाशित भइरहेका छन् । लगानीका अन्य क्षेत्रहरु संकुचित भइरहँदा तरलता अभाव भोग्नुपर्ने अवस्था छैन । र ब्याजदर न्यून विन्दुमा भएको मात्र हैन,अझ घट्ने आकलन भइरहेको छ ।
यस्तो बेला लगानीको नियमित क्षेत्र शेयर बजार नै हुने देखिन्छ । यदपी,लामो समय कोभिडको त्रास रहदा सूचीकृत कम्पनीको व्यवसायमा समेत कटौती हुन सक्छ ।
त्यसले उनीहरुको प्रतिफल दरलाई घटाउन सक्छ । यस्तो बेला लगानीकर्ताहरुले निकै सचेततापूर्वक लगानी गर्नुपर्छ ।