आज १३१औं विश्व मजदुर दिवस नेपालसहित विश्वभर मनाइँदै छ। मजदुरले दिवसलाई पर्वका रूपमा मनाउने गरे पनि दैनिकी गुजारा टार्न काम नगरी सुखै छैन। इँट्टाभट्टामा घोटिएका मजदुरले दिवस मनाउनुभन्दा भोक टार्नु ठूलो कुरा हुने गुनासो गर्छन्।
मनकुमारी बुढा उमेरले ३७ वर्ष पुगिन्। आजभन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौं पसेकी उनी राम्रो काम र कमाइ हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेंसीको एक इँट्टाभट्टामा काम गर्दैछिन्।
११ वर्षअघि श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो र दैनिक जीविकोपार्जनका लागि छोरीलाई समेत इँट्टाभट्टामा काम लगाइन्। एक पटकमा ४० देखि ४५ वटासम्म इँट्टा बोक्ने उनीहरुको कमाइ कति श्रमअनुसार मात्रै मिल्छ।
जति पटक इँट्टा बोक्यो, त्यति पटक कागजमा छाप लगाउने र पछि हिसाब गरेर दैनिक कमाइ निर्धारण गरिन्छ। ‘कहिलेकाहीँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिँदैन। त्यो दिन कमाइ हुँदैन’, मनकुमारीले दुःखी सुनिन्छन्।
इँट्टाभट्टामा काम गर्ने मनकुमारीहरु उदाहरण मात्र हुन्, बालश्रम प्रयोग गरिने इँट्टाभट्टामा ११, १२ वर्षका बालक खच्चर धपाउने काम गर्छन्। धुलोधुँवामा न्यून ज्यालामा काम गर्ने उनीहरु श्रम शोषण भोग्न बाध्य छन्।
नेपालगञ्जबाट आएर ११ र १२ वर्षका राजु अनि गोलु आफ्नो उमेरभन्दा ठूलो काम गर्दछन्, भट्टामा। उनीहरुको काम काचो इँट्टा बोक्ने खच्चर धपाउने हो। एकपटक काँचो इँट्टा बोकेको खच्चर धपाएबापत ३ रुपैयाँ कमाइ हुने भएकाले जति धेरै काम गर्न सक्यो, त्यति नै राम्रो कमाइ हुने हुँदा उनीहरुको दौडधुप निकै देखिन्थ्यो। इँट्टाभट्टामा बालश्रम प्रयोग गर्न नहुने भए पनि घरको गरिबी, शैक्षिक अवस्थालगायत कारणले बालबालिका इँट्टाभट्टामा काम गर्न बाध्य छन्। न्यून ज्यालामा दैनिक मजदुरी गर्नेलाई सरकारको सामाजिक सुरक्षा कोषजस्ता कल्याणकारी कोषले समेट्न सकेक छैनन्।

















तस्बिर: नेपाल फोटो लाइब्रेरी