काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्थगित प्राथमिक सेयर (आईपीओ) बुधबार (आज) देखि निष्कासन हुने भएको छ ।
कम्पनीले गत साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरेकोमा लकडाउन तथा निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत आईपीओ निष्कासन हुने छ ।
स्थानीयले छिटोमा असोज १४ गतेसम्म आवेदन गर्न सक्नेछन । सो अवधिमा सबै आईपीओ बिक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था छ।
नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन ।
यस्तै तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो।
आइपीओ निष्कासन तथा बिक्री प्रवधकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन । प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्काशन गर्ने छ। कम्पनीले नुवाकोटमा ५ मेगावाटको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ । यस्तै म्याग्दीमा ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।