काठमाडौं। नेपालको बैंकिङ क्षेत्रका लागि चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)को अन्त्यसँगै नेपाली बैंकिङ क्षेत्रमा सुधारका संकेतहरू देखिन थालेका छन्। सुस्त आर्थिक गतिविधि र ऋणीहरूको घट्दो भुक्तानी क्षमताका कारण दबाबमा नेपाली बैंकिङ क्षेत्रमा केही सुधारका संकेतहरू देखिएसँगै बैंकहरुको चालू वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण भने सुधारोन्मुख हुने देखिएको छ। ऋणीहरूको सकारात्मक मनोविज्ञान, प्रभावकारी कर्जा असुली र अर्बौंको ब्याज बक्यौता उठ्न थालेकाले बैंकिङ क्षेत्रमा सुधार देखिएको हो।
चालू वर्षको तेस्रो त्रैमास समाप्त भइसकेको छ। तर, नियामकीय प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाहरुले पाकेको ब्याज त्रैमास समाप्त भएको १५ दिनसम्म उठाउन पाउँछन्। सोही उठेको ब्याजको हिसाबसहित बैंकहरुले वैशाख १६ गतेभित्र अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्नुपर्ने हुन्छ।
हालसम्म कामना सेवा विकास बैंकले मात्रै चालू वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। बाँकी बैंकहरुले पाकेको ब्याज उठाउँदै नियामकले तोकेको समय सीमाभित्र वित्तीय विवरण प्रकाशित गर्दै जान्छन्।
लामो समयदेखि नेपालको समग्र अर्थतन्त्र मन्दीको अवस्थामा छ। जुन यसअघि बैंकहरुले प्रकाशित गर्ने वित्तीय विवरणले समेत प्रष्ट पार्छ। २०८१ असार मसान्तसम्म औसत ३.८६ प्रतिशत रहेको बैंकहरुको एनपिएल चालू वर्षको दोस्रो त्रैमासमा औसत ५.२८ प्रतिशत पुगेको छ।
केही बैंकहरुको एनपिएल १० प्रतिशतमाथिसम्म छ। ऋणीले समयमै साँवा ब्याज भुक्तानी गर्न नसक्दा बैंकहरुको एनपिएल बढेको हो भने, सोमा नियामकीय प्रावधानअनुसार कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्दा नाफामा नकारात्मक प्रभाव र पुँजीकोषमा दबाब परेको छ।
बैंंकर्सहरूका अनुसार बजारमा देखिएको नकारात्मक मनोविज्ञान विस्तारै हटेर ऋणीहरूमा ‘बैंकको ऋण तिर्नुपर्छ’ भन्ने सकारात्मक सोचको विकास हुनु सुधारको मुख्य आधार बनेको छ।
तर, चालू वर्षको तेस्रो त्रैमासमा भने अघिल्लो वर्षदेखि बढ्दो क्रममा रहेको खराब कर्जा र ब्याज बक्यौताको चाप केही कम हुने बैंकर्सहरु बताउँछन्। जसले आगामी वित्तीय विवरणहरूमा उत्साह थप्ने देखिएको छ। विशेष गरी चैत महिनामा बैंकहरूले आक्रामक रूपमा कर्जा असुली रिकभरीलाई तीव्रता दिएसँगै खराब कर्जामा गिरावट आउने र नाफामा सुधार हुने अपेक्षा बैंकर्सहरुले गरेका हुन्।
बैंंकर्सहरूका अनुसार बजारमा देखिएको नकारात्मक मनोविज्ञान विस्तारै हटेर ऋणीहरूमा ‘बैंकको ऋण तिर्नुपर्छ’ भन्ने सकारात्मक सोचको विकास हुनु सुधारको मुख्य आधार बनेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, यस पटकको रिकभरीको अवस्था ‘धेरै उत्साहित’ हुनुपर्ने खालको नभए पनि गत पुस मसान्त (दोस्रो त्रैमास) भन्दा केही हदसम्म राम्रो देखिन्छ।
‘धेरै साथीहरूसँग कुरा गर्दा पुसको तुलनामा स्थिति बिग्रिएको छैन, कतिपयले त पुसको भन्दा केही राम्रो र बेटर भएको पनि बताइरहेका छन्,’ संघ अध्यक्ष कोइराला भन्छन्, ‘अघिकांश बैंकहरुको चैत मसान्तको रिपोर्टमा यसअघिको ब्यालेन्ससीटमा भन्दा एनपिएल घट्ने र नाफा बढ्छ, हिजोका दिनमा राजनीतिक वा अन्य दबाबका कारण ऋण नतिरी पर्खने प्रवृत्ति रहे पनि अहिले ऋण तिर्नैपर्छ भन्ने सोचको विकास भएको देखिन्छ, विशेषगरी मधेस क्षेत्रमा रिकभरी अवस्था सुधारोन्मुख छ।’
ऋण नतिर्ने अभियानको प्रभाव विस्तारै ओझेलमा पर्दै गएको र साना तथा मझौला व्यवसायी (एमएसएमई)हरू पुनः भुक्तानी प्रक्रियामा आएको कोइरालाले बताए। कर्पोरेट क्षेत्रमा खासै समस्या नरहेको उनको दाबी छ। जसका कारण यो त्रैमासमा झन्डै ५० प्रतिशत बक्यौता ब्याज उठ्न सक्ने आशा गरिएको छ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल ब्याज बक्यौता ३ खर्ब ८६ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ पुगेको छ। यस बक्यौतामा वाणिज्य बैंकहरूको हिस्सा सबैभन्दा ठूलो अर्थात् ३ खर्ब ५४ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ।
यसैगरी, विकास बैंकहरूको १७ अर्ब ५२ करोड ८८ लाख र वित्त कम्पनीहरूको १४ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ ब्याज उठाउन बाँकी छ। चैत मसान्तसम्ममा बैंकहरूले यो बक्यौताको ठूलो हिस्सा उठाउन सफल हुने र त्यसले गर्दा तेस्रो त्रैमासको वित्तीय विवरणमा प्रोभिजनिङ घटेर खुद नाफामा सकारात्मक प्रभाव पार्ने विश्वास संघ अध्यक्ष कोइरलाको छ।
चैत मसान्त समाप्त भइसकेको र हाल पाकेको ब्याज उठाएर वित्तीय विवरण प्रकाशित गर्ने तरखरमा रहेका बैंकहरुको अवस्था राम्रो हुँदा समग्र अर्थतन्त्र नै सकारात्मक दिशातर्फ उन्मुख रहेको संकेत गर्नेछ। गत फागुन मसान्तसम्म बैंकहरुको वाणिज्य बैंकहरुको औसत एनपिएल ५.२६ प्रतिशत, विकास बैंकहरुको ५.७५ प्रतिशत र वित्त कम्पनीहरुको ११.८६ प्रतिशत एनपिएल थियो।
भविष्यमा झन् समस्या आउन सक्छ भन्ने डरले गर्दा मानिसहरूले आफ्नो हातमा भएको नगद जोगाउन खोज्ने र बैंकको किस्तालाई प्राथमिकतामा नराख्ने अवस्था थियो।
उक्त अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ५० लाख, विकास बैंकहरुले ४ अर्ब ७८ करोड ७० लाख र वित्त कम्पनीहरुले ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थिए। साथै, उक्त अवधिमा ऋणले नतिरेको कर्जामा बैंकहरुले कुल ३ खर्ब ३९ अर्ब ६१ करोड रुपैयाँ प्रोभिजन गरेका थिए।
विकास बैंकर्स संघका महासचिव माधव उपाध्याय पनि कर्जा असुली र खराब कर्जाको अवस्थामा केही सुधार आउनेमा आशावादी देखिन्छन्। ऋणीहरूको मनोविज्ञानमा परिवर्तन आएसँगै दोस्रो त्रैमासको तुलनामा एनपिएल केही मात्रामा घट्न सक्ने उनले बताए।
‘बजारको सिचुएसन एकदमै राम्रो भइसकेको त छैन, तर मान्छेहरूको रियाक्टिभ हुने ट्रेन्ड कम भएको छ र ऋण तिर्नुपर्छ भन्ने साइकोलोजी पोजेटिभ भएको आभास भएको छ,’ गरिमा विकास बैंकका सिइओसमेत रहेका संघका महासचिव उपाध्ययले भने, ‘गरिमा बैंककै सन्दर्भमा पनि पुसको तुलनामा चैतको रिपोर्ट सन्तोषजनक छ।’
उनले समग्र विकास बैंकहरुको सन्र्दभमा खराब कर्जाको दरमा समेत केही सुधार आउने र यसले बैंकहरूको वित्तीय विवरणलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। बैंकर्सहरुका अनुसार हिजोका दिनमा ऋणीहरूको मनोविज्ञानमा विशेष गरी आन्दोलन र भ्रमको प्रभाव, आर्थिक मन्दीको डर र स्रोत-साधन र पहुँचको आशाकोे प्रभाव पारेको थियो। जसले गर्दा बैंकिङ क्षेत्र निकै दबाबमा परेको थियो।
दुर्गा प्रसाईंहरूको समूहले चलाएको ‘बैंकको ऋण तिर्नु पर्दैन’ भन्ने अराजक अभियानका कारण धेरै ऋणीहरूमा अन्योल सिर्जना भएको थियो। यसले गर्दा पैसा भएर पनि ‘तिर्नुपर्दैन कि’ भनेर पर्खने प्रवृत्ति हाबी भएको थियो। बजारमा व्यापार व्यवसाय सुस्त भएपछि ऋणीहरूमा एक प्रकारको नैराश्यता थियो। भविष्यमा झन् समस्या आउन सक्छ भन्ने डरले गर्दा मानिसहरूले आफ्नो हातमा भएको नगद जोगाउन खोज्ने र बैंकको किस्तालाई प्राथमिकतामा नराख्ने अवस्था थियो।
साथै, कतिपय ऋणीहरूमा ‘सोर्स फोर्स’ लगाएर वा राजनीतिक दबाब दिएर ऋण पुनर्तालिकीकरण गराउन सकिन्छ वा छुट पाइन्छ कि भन्ने आशा थियो। यसले गर्दा इमानदार ऋणीहरू पनि केही समय पर्खने मुडमा पुगेका थिए। अहिले भने उनीहरुका अनुसार, ती भ्रमहरू चिरिँदै गएका छन् र ऋणीहरूमा ‘ऋण नतिरी सुख छैन’ भन्ने चेतनाको विकास भएसँगै मनोविज्ञानमा सकारात्मक परिवर्तन आएको देखिन्छ।