काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । यस दिन १९१ ओटा कम्पनीको ५३ हजार २४३ पटकको व्यापारमा ३ अर्ब ७२ करोड ७२ लाख २२ हजार रूपैयाँ बराबरको १ करोड ३२ लाख १८ हजार ६९९ कित्ता शेयर कारोबार भएको हो ।
बुधबारको तुलनामा नेप्से परिसूचक २ प्रतिशतले बढेको छ । बिहीबार ३० दशमलव ७८ अंकले उकालो लागेको नेप्से १ हजार ५७२ दशमलव १८ विन्दुमा अडिएको छ । उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३० प्रतिशत बढेर ३१२ दशमलव ५० विन्दुमा पुगेको छ ।
बुधबार बजार ५ दशमलव ३६ अंकले बढेर १ हजार ५४१ दशमलव ४० विन्दुमा बन्द भएको थियो । बुधबार १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार परिसूचकसँगै कारोबार रकममा वृद्धि देखिएको हो ।
बिहीबार १ हजार ५५५ दशमलव ८६ विन्दुदेखि खुलेको बजार १ हजार ५७८ दशमलव १६ विन्दुसम्म पुगेको थियो भने १ हजार ५४६ दशमलव ६८ विन्दुसम्म झरेको थियो । बिहीबार निर्जीवन बीमा समूह बाहेकका सबै परिसूचक बढेको छ । यस दिन होटल, जलविद्युत र वित्त समूहको शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।
होटल समूहको परिसूचक ९ दशमलव ३७ प्रतिशत, जलविद्युत् समूहको ७ दशमलव ३६ प्रतिशत र वित्त समूहको ६ दशमलव १३ प्रतिशत परिसूचक बढेको हो ।
त्यस्तै बैंकिङ समूहको २ दशमलव ३ प्रतिशत, व्यापारिक समूहको शून्य दशमलव ६५ प्रतिशत, विकास बैंकको ३ दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्यको शून्य दशमलव ८६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५१ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव शून्य ३ प्रतिशत परिसूचक बढेको छ । यो दिन निर्जीवन बीमा समूहको मात्र शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक घटेको छ ।
बिहीबार ५० कम्पनीको शेयरमूल्य बढेको छ । यी मध्य चार कम्पनीको १० प्रतिशत र ४१ कम्पनीको ९ प्रतिशतभन्दा बढीले शेयरमूल्य बढेको छ । सर्वाधिक १० प्रतिशतले शेयरमूल्य बढ्ने चार कम्पनीहरु रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल, हिमाल दोलखा हाइड्रोपावर र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।
दुई प्रतिशत बढेको बजारमा ३२ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । ३२ ओटामध्ये एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६ दशमलव ७३ प्रतिशत घटेको छ ।
विगत लामो समयदेखि सर्वाधिक रकम कारोबार गर्ने पहिलो कम्पनीको स्थान बनाउँदै आएको नेपाल पुनर्बीमा कम्पनीले बिहीबार पनि सो स्थान कायमै राखेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको रू. १४ करोड ९८ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ ।
यस दिन सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो नम्बरमा नेपाल बैंक रहेको छ । उक्त बैंकको बिहीबा १२ करोड ६३ लाख ४५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।