काठमाडौं । सेयर मूल्य बढेपछि नागरिक लगानी कोष बजार पुँजीकरणको नवौं स्थानमा उक्लिएको छ । कोषको बजार पुँजीकरण ५६ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । पुँजीकरणको १० औं स्थानमा हिमालयन बैंक छ । हिमालयनको पुँजीकरण ५३ अर्ब ७९ करोड रुपैयाँ छ ।
कोषले चुक्तापुँजी बढाउन ८२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेपछि पछिल्लो समयमा सेयर मूल्य उकालो लागेको छ । नियमावलीमा परिमार्जन भएपछि कोषले चुक्तापुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउँदै छ । हकप्रद सेयर आउने भएपछि कोषमा लगानीकर्ता झुम्मिएका छन् ।

कोषको सेयर मूल्य ३ हजार ४ सय ३९ रुपैयाँ छ । यस्तै बजार पुँजीकरणको दोस्रो स्थानमा रहेको नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टेलिकमलाई पच्छ्याइरहेको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ६ अर्ब ८० करोड रुपैयाँ छ । यस्तै नेपाल रि–इन्स्योरेन्सको ८७ अर्ब ६० करोड रुपैयाँ छ । नेपाल रिको सेयर मूल्य ८ सय ७६ रुपैयाँ छ ।
यस्तै टेलिकमको ७ सय १२ रुपैयाँ छ । टेलिकम नेपाल रि–इन्स्योरेन्सभन्दा १९ अर्ब २० करोड रुपैयाँले बजार पुँजीकरणमा बढी छ । नेपाल रिको सेयर मूल्य बढेमा निश्चय नै टेलिकमलाई पछि पार्ने देखिएको छ ।
बजार पुँजीकरणको तेस्रो स्थानमा नबिल बैंक, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, पाँचौंमा एभरेष्ट बैंक, छैटौंमा नेपाल इन्भेस्टमेन्ट बैंक, सातौंमा एनएमबी बैंक र आठौंमा एनआईसी एसिया बैंक छन् । नेप्सेमा कारोबार हुने कम्पनीहरुको कुल बजार पुँजीकरण २० खर्ब ९० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
सेयर कारोबार २४ प्रतिशत बढ्यो
यो साता सेयर कारोबार २४ प्रतिशत बढेको छ । यो साता १४ अर्ब २८ करोड ९८ लाख रुपैयाँ बराबरको ४ करोड ४३ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।
अघिल्लो साता ११ अर्ब ५२ करोड २६ लाख रुपैयाँ बराबरको २ करोड ६९ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । सेयर बजार निरन्तर बढेर नेप्से परिसूचक १ हजार ५७२ अंकमा पुगेको छ ।

नेपाल रि–इन्स्योरेन्सको बढी कारोबार
सबैभन्दा बढी सेयर किनबेच नेपाल रि–इन्स्योरेन्सको भएको छ । नेपाल रिको ४२ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५३ करोड १५ लाख र नेपाल बैंकको ४१ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।