काठमाडौं । केही पुराना बैंकहरूले कल डिपोजिट व्यवस्थापन गर्न व्यक्तिगत निक्षेप बढाउँदै लग्ने योजना अघि सारेका छन् । राष्ट्र बैंकको निर्देशित सीमाभित्र कल डिपोजिट ल्याउनुपर्ने भएपछि बैंकहरूले मुद्दती निक्षेपमा अधिक ब्याजको रणनीति अघि सारेका हुन् । पहिलो चरणमा नबिल बैंकले कल डिपोजिट व्यवस्थापन गर्न मुद्दती निक्षेपमा ९ प्रतिशत आकर्षक ब्याजदर दिने नीति सार्वजनिक गरेको छ ।
निक्षेपकर्तालाई राहत दिने सार्वजनिक घोषणा गर्दै नबिल बैंकले मुद्दती निक्षेपकर्तालाई दसैंको मुखमा ९ प्रतिशत ब्याजको लोभ देखाएको छ । सतहमा हेर्दा निक्षेपकर्ताको हितमा देखिए पनि व्यावहारिक रुपमा भने आफ्नो निक्षेप पोर्टफोलियो व्यस्थापन गर्न उच्च ब्याजदरको नीति अंगिकार गरेको हो ।
नबिलको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा गत असारमा १८ दशमलव ४ प्रतिशत छ । जबकी, राष्ट्र बैंकको निर्देशनअनुसार गत आवको वर्षको असारमसान्त भित्र कल डिपोजिट अनुपातलाई अधिकतम १० प्रतिशतको सीमामा झार्नुे थियो । तर, अहिलेसम्म बैंकले सो सीमाभित्र ल्याएका छैनन् ।
राष्ट्र बैंकले पनि कोरोना कहरलाई मध्यनजर गर्दै डण्डा चलाएको छैन । लकडाउन र निषेधाज्ञा हटेसँगै यो प्रावधानलाई केन्द्रीय बैंकले कडिकडाउ गर्ने थाहा पाएपछि बैंकहरू त्यसलाई व्यवस्थापन गर्न लागेका हुन् ।
१ खर्ब ९३ अर्ब कुल निक्षेप रहेको नबिलको कल डिपोजिटको हिस्सा ३५ अर्ब ५० करोड रुपैयाँ छ । उसले एक महिनाभित्र ८ दशमलव ४ प्रतिशत विन्दुले कल डिपोजिटको हिस्सा घटाउनुपर्छ ।
कल डिपोजिटको हिस्सा घटाउनुपर्ने दबाब भए पनि नबिलले अरु बैंकहरू आकर्षक व्याजदरको अफर ल्याउनु अघि नै उच्च ब्याजदर दिएर मुद्दती निक्षेप तान्न लागेको हो ।
यो दबाब अहिले झट्ट हेर्दा नबिल बैंकलाई मात्रै देखिए जस्तो भए पनि अरु आधादर्जन बढी बैंक पनि समस्यामा छन् । उनीहरूले पनि आफ्नो निक्षेप हिस्सा व्यवस्थापन गर्न छिट्टै नै आकर्षक ब्याजदर दिएर निक्षेप उठाउने सम्भावना छ ।
कल डिपोजिटको हिस्सा तोकिएको सीमाभन्दा बढी हुँदा राष्ट्र बैंकको कारबाहीको भागिदार हुनुपर्ने हुन्छ भने कल डिपोजिटलाई स्वतः हटाउनु पर्ने अवस्था आउँछ । त्यसले बैंकको समग्र व्यवस्थापनमा नै समस्या आउने स्थिति हुने भए पनि बैंकहरूले अन्य निक्षेपमा आकर्षक ब्याज दिएर निक्षेपको मात्रालाई बढाउन अग्रसर भएका हुन् ।
यद्यपि, स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक अरु बैंकलाई नबिल जतिको समस्या छैन । किनभने अन्य बैंकमा कल डिपोजिट अनुपात नबिलको भन्दा कम छ र कुल निक्षेप पनि कम छ । यस्तो अवस्थामा थोरै मात्रै रकम उठाउँद पनि उनीहरूले सहजै कल डिपोजिटको हिस्सा व्यवस्थापन गर्न सक्छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कल डिपोजिट अनुपात अधिक भए पनि अन्तर्राष्ट्रिय स्तरको बैंक भन्दै केन्द्रीय बैंकले खासै ध्यान दिने गरेको पाइँदैन । गत असारमा बैंकले ९९ अर्ब १२ करोड रुपैयाँ कुल निक्षेप रहेको स्ट्याण्डर्ड चार्टर्डको कल डिपोजिट भने २० अर्ब १३ करोड छ । यो भनेको कुल निक्षेपको २० दशमलव ३ प्रतिशत हो ।
स्ट्याण्डर्ड चार्टर्डको अनुपात नमिले पनि राष्ट्र बैंकले सितिमिति कारबाही गर्ने आँट गर्दैन । यसअघि सबै बैंकहरूलाई सबै स्थानीय तहमा जान शाखा छुट्याएर निर्देशन दिँदा पनि स्ट्याण्डर्ड चार्टर्डलाई समावेश गरिएको थिएन ।
कल डिपोजिटको हिस्सा बढी भएर समस्यामा पर्ने बैंकहरूमा प्राइम कमर्सियल बैंक, सेन्चुरी कमर्सियल, नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल, सिद्धार्थ र माछापुच्छ«े छन् । यद्यपि, सिद्धार्थ र माछापुच्छेको भने १० प्रतिशतभन्दा केही बढी मात्रै कल डिपोजिट अनुपात छ ।
तर, प्राइमको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा १४ दशमलव ४, सेन्चुरीको १२ दशमलव ९, इन्भेस्टमेन्टको १२ दशमलव ३, सिभिलको ११ दशमलव ३, सिद्धार्थ १० दशमलव ९ र माछापुच्छ«ेको १० दशमलव ४ प्रतिशत छ ।
यद्यपि, समग्र वाणिज्य बैंक समूहमा कुल निक्षेपमा कल डिपोजिटको हिस्सा ९ दशमलव ५ प्रतिशत छ । गत असारमा ३४ खर्ब ९० अर्ब १० करोड कुल निक्षेप रहेकामा ३ खर्ब २३ अर्ब ५५ करोड रुपैयाँ कल डिपोजिटको हिस्सा थियो ।