काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणलाई दुई वर्ष कैद सजाय तोकिएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाई दुई वर्ष कैद सजाय सुनाएको हो। योसँगै उनलाई २० हजार जरिवाना तोकिएको छ।
उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना कायम हुँदा संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ।
यसैगरी, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको जिल्ला अदालतले जनाएको छ। योबाहेक थप तीन महिना कैद तोकिएको छ।
अदालतले एकीकृततर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ। सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएको हुँदा दुई वर्ष कैद र २० हजार मात्रै जरिवाना कायम गरेको हो। नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो। जसमा उनी मतियारका रुपमा थिए।
उनीबाहेक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल र बेचन झा रहेका छन्।