काठमाडौं । नेपाल राष्ट्र बैंकले दबाब दिएपछि लघुवित्त संस्थाहरू धमाधम मर्जर र एक्विजिसनको प्रक्रियामा लागेका छन् । झण्डै दुई दर्जन लघुवित्त संस्थाहरू अहिले मर्जर र एक्विजिसनमा सहभागी भएका हुन् ।
यस्तै अन्य लघुवित्तले पनि प्रक्रिया सुरु गरेका छन् । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई मर्जर र एक्विजिसनको प्रक्रियामा जान प्रोत्साहन पनि गरेको छ ।
लघुवित्तको संख्या घटाउन केन्द्रीय बैंकले हकप्रद सेयर निष्कासन गरेर पुँजी वृद्धि गर्नमा बन्देज लगाएको छ । लघुवित्त संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्न मात्र पाएका छन् । पुँजीगत आधार बलियो बनाउन लघुवित्त संस्थाहरू धमाधम मर्जर प्रक्रियामा सहभागी भएका हुन् ।
थोक कर्जा प्रवाह गर्ने लघुवित्तको न्यूनतम चुक्तापुँजी ६० करोड, राष्ट्रियस्तरका लघुवित्तको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ला लघुवित्तको २ करोड र १ जिल्लास्तरका साना लघुवित्तको चुक्तापुँजी न्यूनतम १ करोड रुपैयाँ तोकिएको छ ।
मर्जरमा गएर लघुवित्त संस्थाहरू देशभरि कारोबार सञ्जाल विस्तार गर्न राष्ट्रिय स्तरका बन्न थालेका छन् । केन्द्रीय बैंकले ९० वटा लघुवित्त संस्थाहरूलाई सञ्चालन अनुमति दिएको छ । हाल यो संख्या घटेर ८५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
स्वीकृतिका प्रक्रियामा रहेका झण्डै ४ दर्जन प्रस्तावित लघुवित्त संस्थाको निवेदन नै खारेज भएको छ । मर्जर प्रक्रियामा सहभागी भएका एक दर्जन संस्थाको अस्तित्व समाप्त भएपछि लघुवित्तको संख्या घटेर ७५ पुग्नेछ । राष्ट्र बैंकले नयाँ लाइसेन्स रोकेरै लघुवित्तहरूलाई मर्जरमा जान बाध्य बनाएको छ ।
केन्द्रीय बैंकको योजनाअनुसार केही लघुवित्तहरू मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भइसकेका छन् । अहिलेसम्म १७ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् ।
केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा छन् । केही नयाँ संस्थाहरूले प्राथमिक सेयर (आईपीओ) निष्कासन नगरी मर्जर तथा एक्विजिसन प्रक्रियामा गएका छन् । २४ वटा लघुवित्तले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका छन् ।
स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई एक्विजिसन गरेको छ । बोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले भर्खरै मात्र मर्जरमा जाने सहमति गरेका छन् ।
आरम्भ र चौतारी लघुवित्त वित्तीय संस्था मर्जमा गएर राष्ट्रिय स्तरको लघुवित्त संस्थामा परिणत भएका छन् । आरम्भ चौतारीलाई हालै केन्द्रीय बैंकले राष्ट्रियस्तरको मान्यता दिएको छ ।
मर्जरमा जाने लघुवित्त संस्थाहरू
नेस्डो लघुवित्त र नेपाल एग्रो लघुवित्त, युनिक नेपाल लुघवित्त र बुद्धज्योति लघुवित्त, सीवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त, जल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्त, धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त, समिटल लघुवित्त र सजिलो लघुवित्तबीच मर्जरको सम्झौता भइसकेको छ ।
यस्तै सारथी लघुवित्त र नयाँ नेपाल लुघवित्त, स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्त, महुली लघुवित्त र नवीकरण लघुवित्त, एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त, समता लघुवित्त र घरेलु लघुवित्त मर्जरमा गएका छन् ।