काठमाडाैं । सोलु खोलामा ९.५ मेगावाटको मध्य सोलु हाइड्रोपावर निर्माणको काम दसैंअघि सुरु हुने भएको छ । यस आयोजनाका बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्यांकन स्वीकृत भएकाले दसैंअघि नै निर्माण कार्य सुरु हुने जानकारी दिइएको हो ।
आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिए ।
छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ति पनि जनाएका थिए ।
आयोजनाको काम गत फागुनमा सुरु हुनुपर्ने भएपनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रतिमेगावाट १५ करोड लागत अनुमान गरिएको यस आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलगायत बैंकको ऋण सहायता रहनेछ ।
नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रोपावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३।५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ ।
यी आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेका छन् । रासस