काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन असोज १६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
फाइनान्सले ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर निष्कसन गर्न लागेको हो । आगामी कात्तिकसम्म हकप्रद सेयर भर्न पाइने छ ।
हकप्रदमा भदौ ११ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो ।
फाइनान्सको हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सेयरधनीको बैंक खाता रहेको बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत अनलाइन आवेदन गर्न सकिनेछ । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यसैगरी बीओके क्यापिटल मार्केट कमलादी, बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु धनगढी, नेपालगंज, सुर्खेत, विरगञ्ज, पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, बिर्तामोड तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र शाखा कार्यालयहरु पुतलीसडक तथा बुटवलबाट पनि बुझाउन सकिनेछ ।
फाइनान्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आईपीओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ५ रेटिङ्गले फाइनान्सको वित्तीय आधारभुत अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ ।
हाल फाइनान्सको चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ । फाइनान्समा ५९.३७ प्रतिशत संस्थापक र ४०.६३ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व छ ।