पोखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष विश्व पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने पोखराका पर्यटन सम्वद्ध संघसंस्थाहरुले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रीत कार्यक्रमको आयोजना गरेका छैनन् ।
हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा झाँकीसहित पोखरा विमानस्थल र बसपार्कमा पर्यटकलाई ढाका टोपी र दोसल्लासहित भव्य स्वागत गरेर कार्यक्रम गर्दै आएकोमा यस वर्ष कुनै पनि कार्यक्रम नगरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।
“हामीले यो वर्ष पर्यटक लक्षित कार्यक्रम राखेनौं, कोभिड–१९ले आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य छ, भीडभाडमा कोरोनाको जोखिम पनि उच्च रहने भएकाले यो वर्ष औपचारिक कार्यक्रम नगर्ने निर्णयमा पुगेका हौँ” उनले भने । पर्यटन क्षेत्र चलायमान र भावी रणनीतिका विषयमा व्यवसायीबीच भर्चुअल अन्तरक्रिया गरिने जानकारी दिए ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चले भने ग्रामिण पर्यटन प्रवद्र्धनलाई जोड दिएर विश्व पर्यटन दिवस मनाउँदै आएकोमा यस वर्ष फेवाताल पारी एक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
उनले भने, “सेप्टेम्बर २७ ग्रामीण पर्यटनलाई जोड दिएर ग्रामीण भेगमानै पुगेर भव्य रुपमा कार्यक्रम गर्दै आएका थियौँ तर अहिले कोभिड –१९ का कारण गाउँ केन्द्रित कार्यक्रम गर्न असमर्थ भयौं । यस वर्ष प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा फेवाताल पारी किनारमा ‘फेवा फुट ट्रेल –वस्तुगत अध्ययन’ साथै कोभिड पछिको पर्यटन विषयलाई केन्द्रित गरेर कार्यक्रम तय गरेका छौ । ”
उनले फेवाताल पर्यटकको प्रमुख गन्तव्य स्थलकारुपमा रहे पनि आवश्यक पूर्वाधारको अभावले थप आकर्षक बन्न नसकेको जनाउँदै प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणका लागि कार्यक्रम गर्न लागेको जानकारी दिए।
उनका अनुसार फेवातालमा प्याडल डुङ्गामार्फत तालपारी रानीवनमा रहेका चिसापानी र मेवाखोलाको झरनाको अवलोकन साथै तालछेऊमा गएको पहिरोको स्थलगत अवलोकन गरेर आवश्यक संरक्षणका लागि समेत पहल गरीने बताए ।
पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, पर्यटनविद्, सरोकारवाला व्यक्ति, सञ्चारकर्मी सामाजिक दुरी कायम गरेर छुटाछटै डुङ्गाबाट उक्त स्थानमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको टानका सचिव जीवनराज सापकोटाले जानकारी दिए ।
गत वर्ष पोखरामा २ लाख ९८ हजार पर्यटक आएको अभिलेख रहेको पर्यटक संयोजक जुद्ध गुरुङले जानकारी दिए । अभिलेखमा थुप्रै पर्यटक छुटेकाले करीब ४ लाख पर्यटक आएको हुन सक्ने उनको अनुमान छ ।
त्यसैगरी गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ५ खर्ब ९३ अर्ब ९२ करोड रुपैयाँ लगानी छ । पर्यटकको बसाइ २ देखि ३ दिन र खर्च सरदर ५ हजार रुपैयाँ रहेको उनको भनाइ छ । पोखरामा हाल करिव २०० देखि २५० को हाराहारीमा विदेशी पर्यटक रहेको अनुमान छ ।