काठमाडौं । हिमालयन बैंकको अगुवाइमा अपी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ ।
हिमालयनको अगुवाईमा कर्मचारी संचयकोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकहरुले सह–वित्तियकरण बनाई सो रकम आयोजनामा ऋण प्रवाह गर्ने भएका हुन् ।
अपी पावर र हिमालयनबीच आइतबार ऋण लगानी सम्झौता भएको छ । आयोजना निर्माणका लागि सेयरधनीहरुबाट स्वपुँजी जुटाउन चुक्तापुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँको २ः०.४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भइसकेको छ ।
कम्पनीको हालको चुक्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ । कम्पनीले तेश्रो आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना पहिचान गरी निर्माणको काम सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपी हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ ।
अपी हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काइ मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी बिजुली उत्पादन हुनेछ ।
क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत नेविप्राको वलाँच सवस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ ।
उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष १६२ करोड रूपैँया आयआर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।
कम्पनीको हालको अधिकृत पुँजी ५ सय रूपैयाँ करोड, जारी पुँजी ४ सय करोड र चुक्तापूँजी ११९.०७ करोड रूपैयाँ रहेको छ । कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा निजी लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो । कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।
कम्पनीद्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भइरहेको छ ।