काठमाडौं । ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनालाई लगानी जुटाउन अपी पावर कम्पनी लिमिटेडले आउँदो साता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीलाई प्रथम चरणमा चुक्तापुँजीको १ बराबर ०.४७ प्रतिशत अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्न अनुमति पाइसकेको छ । आगामी साता हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए ।
“बैंकसंग ऋण लगानी सम्झौता बाँकी थियो । त्यो पनि पुरा भएकाले अब हकप्रद सेयर निष्कासन गर्ने छौ” उनले क्यापिटल नेपालसंग भने । उनका अनुसार बैंकसंग ऋण सम्झौता बाँकी रहेकाले हकप्रद रोकिएको हो ।हाल कम्पनीको कायम चुत्तापुँजी १ अर्ब १९ करोड रुपैयाँ छ ।
आयोजनामा हिमालयन बैंकको अगुवाइमा आयोजनामा ५ अर्ब १८ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । हिमालयनको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकहरुले सह–वित्तियकरण बनाई सो रकम आयोजनामा ऋण प्रवाह गर्ने भएका हुन् ।
अपी पावर र हिमालयनबीच आइतबार ऋण लगानी सम्झौता भएको छ । आयोजना निर्माणका लागि सेयरधनीहरुबाट स्वपुँजी जुटाउन चुक्तापुँजी १ अर्ब १३ करोड ४० लाख रुपैयाँको ०.४७ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भइसकेको छ ।
सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, अपी हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरिनेछ ।अपी हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काइ मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी बिजुली उत्पादन हुनेछ ।
क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बलाँच सवस्टेसनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ ।
उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगाड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भदौं २ गते देखि बिजुली उत्पादन थालेको हो।
कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको हो ।