काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोट स्किम–२ ले भदौ मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त अपरिस्कृत वित्तीय विवरणअनुसार दुवै योजनाको लगानी मूल्य बढेको छ । साउन मसान्तको तुलनामा भदौ महिनामा ती दुवै योजनाको लगानी मूल्यमा वृद्धि देखिएको हो ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको धितोपत्रमा लगानी मूल्य साउन महिनामा १ अर्ब १४ करोड १३ लाख १९ हजार रूपैयाँ रहेकोमा भदौ महीनामा यो रकम १ अर्ब १७ करोड ६८ हजार रूपैयाँ रहेको छ ।
उक्त योजनाले सूचीकृत शेयर, ऋणपत्र तथा बण्ड, सार्वजनिक निष्कासनका शेयर तथा हकप्रद र बोनस शेयरसँगै बैंक मुद्दती निक्षेपमा गरेको लगानीमूल्य बढेको हो । योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी रहेको छ ।
भदौ मसान्तसम्म उक्त योजनाले धितोपत्र दलाल कमिसनसहित मुद्दती निक्षेप वाहेक १ अर्ब ४५ लाख ९७ हजार रूपैयाँ लगानी गरेकोछ । साउन मसान्तसम्म मुद्दती निक्षेपमा १२ करोड रूपैयाँ लगानी गरेको उक्त योजनाले भदौ मसान्तसम्म १३ करोड रूपैयाँ लगानी गरेको छ ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम –२ को प्रतिइकाइ खुद मूल्य पनि साउन महिनाको तुलनामा भदौ महिनामा बढेको छ । साउन महीनासम्म रू.१० र ७८ पैसा रहेको योजनाको भदौ
महिनामा यो मूल्य ११ रूपैयाँ र ४२ पैसा कायम रहेको छ । साउन महीनासम्म २ करोड ४० लाख ५३ हजार रूपैयाँ नाफा गरेको उक्त योजनाले भदौ महीनामा १० करोड १३ लाख ४५ हजार रूपैयाँ नाफा गरेको छ ।
त्यस्तै सिद्धार्थ इक्वीटी फण्डको धितोपत्रमा गरेको लगानीमूल्यभन्दा बजार मूल्य बढी कायम भएको छ । उक्त योजनाले भदौ मसान्तसम्म बैंक मुद्दती बहेक सूचीकृत शेयर, ऋणपत्र र सार्वजनिक निष्कासनका शेयर तथा हकप्रद र बोनस शेयरमा कुल १ अर्ब ३२ करोड ९३ लाख २१ हजार रूपैयाँ लगानी गरेको छ । भदौ मसान्तसम्म उक्त योजनाले बैंक मुद्दती निक्षेपमा १५ करोड रूपैयाँ लगानी गरेको छ ।
योजनाको मुद्दती निक्षेपसहित धितोपत्रमा गरिएको कुल लगानीको बजारमूल्य १ अर्ब ५४ करोड २८ लाख ९४ हजार रूपैयाँ रहेको छ । यो मूल्य साउन महीनासम्म १ अर्ब ४८ करोड ४८ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।
साउन महीनामा १० रूपैयाँ र ७४ पैसा रहेको सिद्धार्थ इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य भदौ महीनासम्ममा ११ रूपैयाँ र ४८ पैसा कायम भएको छ । उक्त योजनाले साउन महिनासम्ममा ६ करोड ७८ लाख ७७ हजार नाफा गरेकोमा भदौ महिनामा१७ करोड ९७ लाख ३ हजार रूपैयाँ नाफा गरेको छ ।
सिद्धार्थ क्यापिटल अन्तर्गतका दुवै योजनाको नाफामा साउन महिनासम्मको तुलनामा भदौ महिनामा उल्लेख्य वृद्धि देखिएको छ ।