काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को कारण बन्द रहेको मनकामना र कालिञ्चोक केवलकार सञ्चालनको तयारीमा रहेको छ । चन्द्रागिरी केवलकार भने केही समय अघिबाट सञ्चालनमा आइसकेको छ ।
हाल नेपालमा तीनवटा मात्र केवलकारहरु सञ्चालनमा छन् । सरकारले असोज १ गतेबाट होटल, एयरलाइन्स र लामोदूरीका सवारीसाधानहरु सञ्चालन गर्ने निर्णय गरे पनि धार्मिक स्थलहरु भने खोल्न अनुमति दिएको छैन ।
तर, कात्तिक १ गतेबाट विदेशी पर्यटकहरुलाई नेपालमा आउन दिने र अन्तर्राष्ट्रिय उडानहरु पनि सहज हुँदै गएसँगै केवलकारहरुले पनि सञ्चालनका लागि आवश्यक तयारी गरेका हुन् ।
लामो समयदेखि बन्द रहेको केवलकार सञ्चालनका लागि आवश्यक मर्मत सम्भार गरिसकिएको मनकामना केवलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
‘कात्तिक १ गतेबाट सञ्चालन गर्नका लागि आवश्यक तयारी पूरा गरिएको छ, सञ्चालक श्रेष्ठले भने समय अनुकूल र सरकारले अनुमति दिए त्योभन्दा अघिनै सञ्चालन गर्न सकिन्छ ।’
कालिञ्चोक केवलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले आवश्यक स्वास्थ्य प्रोटोकलहरु तयार पारेर सञ्चालनको अनुमतिको पर्खाइमा रहेको बताए । एक पटकमा ४ जना मात्र चढाउने र प्रत्येक यात्रुले मास्क, स्यानिटाइजर लगाउनु पर्ने प्रावधान बनाइएको उनको भनाइ छ ।
पछिल्लो समय विभिन्न एयरलाइन्स, ट्राभल कम्पनीहरुले आन्तरिक पर्यटनका लागि सस्तो र आकर्षक प्याकेजहरु ल्याइरहेको बेला धार्मिक स्थल साथै केवलकारहरु सञ्चालन गर्न आवश्यक रहेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।
चन्द्रागिरी केवलकारका म्यानेजिङ डाइरेक्टर अभिषेक शाहले उत्साहजनक रुपमा पर्यटकहरु आउन थालेको बताए । पूर्णरुपमा स्वास्थ्य सर्तकता अपनाइएको उनको भनाइ छ ।
६ महिनाभन्दा बढी समयदेखि केवलकार बन्द हुँद आफूहरु धेरै समस्यामा परेको भन्दै आवश्यक स्वास्थ्य प्रोटोकलहरु पूरा गरेर सञ्चालन गर्न अनुमति दिन आवश्यक रहेको सञ्चालकहरुको भनाइ छ ।
केवलकार सञ्चालन हुँदा एकातिर आफूहरुको व्यवसाय चलायमान हुने, कर्मचारीहरुलाई तलबभत्ता खुवाउन सहज हुनेदेखि आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको ठहर छ ।
नेपालीहरुको प्रमुख चाड दसैं–तिहार र छट नजिकिँदै जाँदा घुमघाममा समेत निस्कने भएकाले केवलकार आकर्षक गन्तव्यका रुपमा यसअघि लिँदै आइएको थियो ।