भक्तपुर। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारबिना देशको समृद्धि सम्भव नभएको स्पष्ट पारेका छन्। भक्तपुर चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आर्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि स्थिर नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित आर्थिक विकास हुन नसकेको बताए।
उनले युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना भए पनि रोजगारी अभावले दैनिक ठूलो संख्यामा विदेश पलायन भइरहेको उल्लेख गर्दै यसलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हाल दैनिक २५ सय हाराहारी युवा दैनिक विदेश पलायन भइरहेका छन्। यसलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नु पर्छ।’ उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना आर्थिक समृद्धिका आधार भएको समेत स्पष्ट पारे।
अध्यक्ष अग्रवालले हालको राजनीतिक अवस्थालाई सकारात्मक रूपमा व्याख्या गर्दै स्थायित्वले लगानीमैत्री वातावरण निर्माण हुने, स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र औद्योगिक विकास तीव्र हुने विश्वास व्यक्त गरे। ‘स्थिर राजनीतिक वातावरणले उद्योग, व्यापार र समग्र आर्थिक गतिविधि विस्तार गरी युवालाई स्वदेशमै अवसर दिन्छ,’ उनले भने।
उनले आर्थिक लक्ष्य हासिल गर्न व्यवसाय मैत्री वातावरण निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै कर प्रणाली सुधार, भन्सार दर घटाउने, भ्याटका दरलाई व्यवहारिक बनाउने, साना व्यवसायीलाई कर छुट र प्रशासनिक झन्झट घटाउने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराए। साथै, सूचना प्रविधिलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा हालै निर्वाचित भक्तपुरका सांसदहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने सांसदमा रुकेश रञ्जित, राजिव खत्री, मदनकृष्ण श्रेष्ठ, प्रमिला कुलुजु, कुसुम महर्जन र डा. गंगा लक्ष्मी अवाल रहेका थिए। प्रमुख अतिथि अग्रवालले उनीहरूलाई सम्मान गर्दै निजी क्षेत्रसँग सहकार्य गरी देशको समग्र विकासमा योगदान दिन आग्रह गरे।
सांसदहरूले निजी क्षेत्रको मनोबल बढाउने, स्थानीय उत्पादन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा जनताको अपेक्षाअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले भक्तपुरका समग्र विकासका लागि संयुक्त रूपमा काम गर्ने प्रतिवद्धता समेत जनाए।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तवुज्जा श्रेष्ठले निजी क्षेत्रले ८२ प्रतिशत स्थानीय स्रोत साधन प्रयोग गरिरहेको उल्लेख गर्दै प्रशासनिक जटिलताका कारण उद्योगी–व्यवसायीको ऊर्जा खेर गइरहेको गुनासो गरे। उनले कर तथा नीतिगत समस्याको समाधान गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।