काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सूचीकृत कम्पनीहरूले लाभांश बाँड्ने चटारो सुरु हुने बेला लघुवित्त वित्तीय संस्थाहरू भने एकआपसमा एकीकृत हुनका लागि जोडी खोज्न व्यस्त छन् । सकेसम्म आफ्नो अस्तित्व जोगाएर लघुवित्त संस्थाहरू धमाधम गाभ्ने/गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन)मा केन्द्रित हुन थालेका हुन् ।
एकीकृत हुने त्यही चटारोमा अहिले दुईदर्जन बढी लघुवित्त वित्तीय संस्थाहरूले धमाधम मर्जर र एक्विजिसनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने र त्यसको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिन थालेका छन् । कतिपय संस्थाहरू अझै उपयुक्त अर्को संस्थाको खोजीमा कम्मर कसेर लागेका छन् ।
पुरानो आर्थिक वर्ष सकिएको साढे २ महिना बितिसक्दासमेत लाभांश घोषणा नगरेका लघुवित्त संस्थाहरूले मर्जरलाई प्राथमिकता दिएर लाभांश दिने कामलाई तत्कालका लागि पछि सारेका छन् । कतिपय लघुवित्तले एकीकृत भएपछि दुवै संस्थाको असारको नाफा जोडेर एकीकृत रुपमै लाभांश दिने जानकारीसमेत गराएका छन् । यसले सूचीकृत लघुवित्त संस्थाको लाभांश घोषणामा ढिलाइ हुने भएको छ ।
खासगरी केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लाभांश बाँड्न र कार्यक्षेत्र विभाजनमा कडाइ गरेसँगै लघुवित्त संस्थामा एकीकृत हुन बढी जोड दिइरहेका छन् । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूको संख्या धेरै भएको भन्दै एकीकृत भएर आफ्नो कार्यक्षेत्र बढाउन, पुँजी तथा अन्य हिसाबले मजबुत संस्था बनाउन जोड दिइरहेको छ ।
विगतमा पुँजी बढाउन हकप्रद सेयरको सहारा लिएको पाएपछि केन्द्रीय बैंकले हकप्रद सेयर बिक्रीमा पूर्णतः अनौपचारिक रुपमा बन्द गर्दै बोनस सेयर वा मर्जर एन्ड एक्विजिसनमा जोड दिएको छ । कतिपय सूचीकृत लघुवित्त वित्तीय संस्थाले भने मर्जर तथा एक्विजिसनलाई संस्थाको कमाउने अर्को बाटोको रुपमा पनि प्रयोग गरेका छन् ।
खासगरी सूचीकृत संस्थाले सूचीकृत नभएका संस्थासँग एकीकरण गर्ने र सर्वसाधारण तथा संस्थाको पुँजी संरचना मिलाउन थप प्राथमिक निष्कासन (एफपीओ)को बाटोसमेत देखाइरहेका छन् । एफपीओ जारी गर्दा अंकित मूल्यभन्दा धेरै माथी थप सेयर बिक्री गर्दा कम्पनीको नाममा राम्रो आम्दानी आउने आधारलाई कतिपय लघुवित्तले अवसरका रुपमा लिइरहेका छन् । त्यसले कम्पनीको सेयर मूल्य टिकाइराख्न पनि सहयोग गर्छ ।
यो साता समाज लघुवित्त वित्तीय संस्थार स्वस्तिक लघुवित्त वित्तीय संस्थाले एकीकरण गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । भरखरै प्राथमिक सेयर निष्कासन गरेको समाजले नेप्सेमा सेयर सूचीकृत नहुँदै मर्जर गर्ने निर्णय गरेको हो । मर्जमा जाने संस्थाको सेयर कारोबार हुँदैन । त्यस्तै आइतबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, शालिग्राम लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज गर्न सहमत भएका छन् ।
आरम्भ चौतारी नेप्सेमा सूचीकृत कम्पनी हो भने शालिग्राम र सीवाईसीले सर्वसाधारणमा सेयर बिक्री गरेकै छैनन् । त्यति मात्र होइन आरम्भ चौतारी आफंैमा आरम्भ लघुवित्त र चौतारी लघुवित्त गाभिएर बनेको संस्था हो । सोमबार मात्रै मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज गर्ने गरी भएको समझदारीको जानकारी नेप्सेलाई दिएका छन् ।
मिर्मिरेले सर्वसाधारणलाई सेयर बिक्री गरेर नेप्सेमा सूचीकृत भएको छ भने श्रृजनसीलले सर्वसाधारणमा सेयर बिक्री गरेको छैन । मिर्मिरेमा यसअघि नै नागबेली र किसान लघुवित्त मर्ज भइसकेका छन् ।
उता, बोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तबीच पनि मर्जरमा जाने सहमति भएको छ । ग्रामीण स्वयंसेवकले सर्वसाधारणमा सेयर विक्री गरेको छैन । यसअघि नै वोमीले नागरिक लघुवित्तलाई आफूमा गाभेको थियो । नागरिकले पनि सर्वसाधारणमा सेयर जारी गरेको थिएन । यसअघि नै एनआरएन, रामारोशन र क्रियटिभ एकीकृत भएर एनआरएन लघुवित्त वित्तीय संस्थाको नाममा कारोबार सुरु गरिसकेको छ ।
समिट लघुवित्त र सजिलो लघुवित्त, सारथी लघुवित्त, सत्यवति लघुवित्त र नयाँ नेपाल, जीवन विकास, साल्भी र गरिबी न्यूनीकरण पनि एकआपसमा एकीकृत हुने निर्णय गरेका छन् । त्यस्तै, स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई, साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई गाभेको छ ।
नेस्डो लघुवित्त र नेपाल एग्रो लघुवित्त, युनिक नेपाल लुघवित्त र बुद्धज्योति लघुवित्त, जल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्त, धौलागिरी लघुवित्त र आँधीखोला लघुवित्त, महुली लघुवित्त र नवीकरण लघुवित्त, एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त, समता लघुवित्त र घरेलु लघुवित्तबीच पनि एकआपसमा मर्ज हुने सहमति गरेका छन् ।
त्यसैगरी कालिका लघुवित्त र जनसेवी लघुवित्त, सुर्योदय लघुवित्त र त्रिलोक लघुवित्त, उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्त, मनकामना लघुवित्त र स्मार्ट लघुवित्तले पनि एकापसमा गाभिने निर्णय गरेका छन् ।
केन्द्रीय बैंकले नयाँ लघुवित्त संस्थालाई अनुमति स्थगित गरेर पुरानालाई एकीकरणमा जोड दिए पनि संस्थाहरू घट्न थालेका छन् । ९१ ओटा पुगेका लघुवित्त संस्था गत असारसम्म ८५ ओटामा सिमित भएको छ । चालू वर्ष लागेपछि एकीकृत भएका लघुवित्त संस्थाहरू केन्द्रीय बैंकले आफ्नो सूचीमा सामेल गरेको छैन ।