काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर बिक्री खुला भएको छ । कम्पनीको ५ लाख ९० हजार १४ कित्ता सेयर बोलकबोलबाट बिक्री हुन लागेको हो ।
गुराँसले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । सेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड छ ।
अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिने गुराँशले जानकारी गराएको छ ।
आवेदन दिने अन्तिम दिन असोज १९ गतेसम्म छ । यसअघि कम्पनीले २०७७ असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले आवेदन नपरेको संस्थापक र साधारण सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबी बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ ।