काठमाडौं । केही समययता जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जलविद्युत कम्पनीको बढी कारोबार हुँदै गएको छ ।
मंगलबार पनि कारोबार रकम र बढी कमाउनेमा जलविद्युत कम्पनीका लगानीकर्ताहरु छन । ७ वटा जलविद्युत कम्पनीको वर्चश्व देखिएको छ । अरुण कावेली पावर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
अरुण कावेलीले बिजुली उत्पादन गरेर नाफा कमाउन थालेपछि लगानीकर्ता आकर्षित भएका हुन् । अरुण कावेलीको मंगलबार प्रतिकित्ता २२८ मा १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
अरुण कावेलीको सेयर मूल्य निरन्तर बढिरहेको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११९ रुपैयाँमा १० करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीको २०९ मा ७ करोड ७ लाख, हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी (एचआईडीसीएल) को १८० मा ७ करोड ७ लाख, युनिभर्सल पावर कम्पनी लिमिटेडको १२५ मा ४ करोड ९ लाख, अपी पावर कम्पनीको १९४ मा ३ करोड ८८ लाख र नेसनल हाइड्रोपावर कम्पनीको ९० रुपैयाँमा ३ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन । जोशीको सेयर मूल्य १० रुपैयाँ बढेर प्रतिकित्ता ११० रुपैयाँ पुगेको छ । यस्तै हिमालय ऊर्जा विकास कम्पनीको १४ रुपैयाँ बढेर १५५, आँखुखोला जलविद्युत कम्पनीको बढेर १११ रुपैयाँ पुगेको छ ।
जलविद्युत कम्पनीहरुको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले उठाउन लागेका हुन । नेप्सेमा १०० रुपैयाँ भन्दा कम दर भएका जलविद्युत कम्पनीहरुको कारोबार बढी छ । अधिकाँशको सेयर मूल्य बढेर १०० रुपैयाँ माथि पुगेको छ ।
ठुला कम्पनीहरुको कारोबार भएको छैन । कतिपय जलविद्युत कम्पनीहरुले राम्रो आम्दानी गर्न थालेका छन । अन्य क्षेत्रका घटेका बेला जलविद्युतको आम्दानी स्थिर देखिएको छ ।
मंगलबार सेयर बजार ७ अंकले घटेर नेप्से परिसूचक १ हजार ५५३ अंकमा पुगेको छ । मंगलबार १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरको ७३ लाख ५ हजार १११ कित्ता सेयर किनबेच भएको छ ।
जलविद्युत, उत्पादनमूलक र म्युचअल फण्डको परिसूचक बढेको छ । बैंक तथा वित्तीय संस्था, व्यापार, होटल, बीमा र लघुवित्तको घटेको नेप्सेले जनाएको छ ।
