काठमाडौं । दूधकोसी हाइड्रो पावर नेपालले (दूधकोसी २ आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकामा पर्ने दूधकोसी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए । उनका अनुसार आयोजना बनाउन १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोसीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।
दूधकोसी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोसी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा बाँध निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत्गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको खनालले जानकारी दिए ।
यसअघि दूदूधकोसीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पुर्याउने योजना थियो । अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्याइनेछ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।
“भारतीय लगानीमा निर्माण हुन लागेको दूधकोसी हाइड्रोपावर प्रालि विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता सरकारसँग हुने चरणमा छ”, जनसम्पर्क अधिकृत खनालले भने, “यस सम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको छ, त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुन्छ ।”
आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ । त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ ।
ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने बित्तिकै निर्माणको काम सुरु गरिने उनको भनाइ छ ।
यो कार्य दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम सुरु हुने कम्पनीले जनाएको छ । आयोजना बनाउन १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।