काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिज (जीसीसीआई)बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेशमन्त्री एलेक्जन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सो कार्यक्रममा दुई देशको व्यापारिक, आर्थिक एवम् लगानी विकास प्रगाढ एवम् सुदृढ बनाउनका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवसायीबीच प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्विपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुको सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ ।
नौ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एवम् आपसी सम्बन्ध सुमधुर, व्यापारिक तथा औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रदर्शनीमा सहभागी हुने उल्लेख छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत्, सूचना प्रविधि, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताएका छन् । आर्थिक उन्नतिका लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी तथा सामाजिक सुरक्षा ऐन लागू भैसकेको जानकारी दिँदै नेपालमा व्यवसाय एवम् लगानीको उपयुक्त वातावरण भएको बताए । उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेब्रुअरी २५ देखि २९ सम्म हुन लागेको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताका लागि अनुरोध गरे ।
कार्यक्रममा जर्जियाका उपविदेशमन्त्री एलेक्जन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्वार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए । उनले समग्र सामाजिक सेवा विस्तार र आर्थिक क्षेत्रमा आवश्यकताअनुसार चेम्बरसँग सहकार्य गर्न तयार रहेको बताए । दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको बताए ।
२०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करिब २३ लाख रुपैयाँको व्यापार घाटा सहनु परेको थियो । यसमा २९ लाखको आयात तथा ६ लाख ७० हजार रुपैयाँको मात्र निर्यात हुन सकेको देखिन्छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैंचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने प्रचुरतम सम्भावना छ ।