काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा शपथ लिएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको झन्डै ४० दिनपछि कोइरालाले शपथ लिएका हुन् । हाल सञ्चालक समितिको अध्यक्षता गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले कोइरालालाई सञ्चालकको शपथ दिलाए ।
निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकमा अध्यक्ष बनाउने गरी सञ्चालकमा नियुक्त गरेका थिए । विवादास्पद छवि भएका कोइरालालाई सरकारको पूर्ण स्वामित्वको एक मात्र बैंकको नेतृत्व सुम्पन लागेको भन्दै चर्को विरोध भएको थियो । सोही कारण सञ्चालकमा नियुक्त भएको करिब डेढ महिनासम्म बैंकले कोइरालालाई अध्यक्ष बनाउन सकेको छैन ।
मन्त्रीस्तरीय बैठकबाट अर्थ मन्त्रालयले गत भदौ ७ मा कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । भदौ ८ मा उक्त निर्णयको पत्र बैंकलाई प्राप्त भएको छ । त्यसपछिको बैंक सञ्चालक समितिको पहिलो बैठक (भदौ १०, बुधबार) मा कोइरालालाई अध्यक्ष चुन्ने प्रस्ताव तय भएको थियो । तर, कोइरालाको विषयमा चौतर्फी विरोध भएपछि बुधबार बैठक बस्न सकेन । स्थगित बैठक बिहीबार बस्यो । बैठकमा अध्यक्ष चयनको प्रस्ताव राखिएन । त्यसपछि बैठकमा पनि सो प्रस्ताव राखिएको थिएन ।
अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले लिएका छन् । प्रधानमन्त्री कार्यालयबाट सकारात्मक संकेत पाएपछि बुधबारको बैठकमा कोइराला उपस्थित भएको बताइएको छ ।
अर्थ मन्त्रालयले कोइरालालाई चार वर्षका लागि नियुक्त गरेको हो । हाल बैंकमा अध्यक्ष पद खाली छ । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि अध्यक्ष पद खाली भएको हो । सोही पदमा कोइरालालाई नियुक्त गर्ने अर्थ मन्त्रालयको तयारी हो । तर, कोइरालाको विवादास्पद छविलाई लिएर विरोध भएपछि बैंकले अझै अध्यक्ष चुन्न सकेको छैन ।
कोइरालालाई अध्यक्ष बनाउन नचाहेर बैठकमा प्रस्ताव नलगिएको भने होइन । विरोध भएकै बेला नियुक्त गर्दा नराम्रो सन्देश जाला भनेर रोकिएको स्रोतले बताएको छ ।