काठमाडौं । बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञा हटेपछि उद्योग व्यवसाय सुचारु हुँदा बिजुलीको खपत बढेको छ । बिजुलीको माग बढेर १ हजार ४०० मेगावाट हारहारीमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उद्योग व्यवसाय सञ्चालन हुन थालेपछि बिजुलीको खपत बढेको प्राधिकरणले जनाएको छ ।
भारी वर्षाका कारण गत साता बिजुलीको माग घटेकोमा अहिले मौसममा सुधार आएपछि माग बढेको छ । अहिले उद्योगधन्धाका साथै मौसममा सुधार भई गर्मी बढेपछि एसी, पंखा, कुलरलगायत विद्युतीय उपकरण नियमित चल्न थालेपछि माग बढेको प्राधिकरणले जनाएको छ ।
लकडाउनका बेला बिजुलीको माग झण्डै आधा घटेको थियो । त्यसबेला उद्योग व्यवसाय बन्द हुँदा घरायसी खपत मात्र भएको थियो । प्राधिकरणका अनुसार अहिलेको बिजुलीको माग पिकआवरमा १ हजार ३६६ मेगावाटसम्म छ ।
गत वर्ष यही समयमा १ हजार २४४ मेगावाट माग थियो । गत वर्षको भन्दा यो वर्ष बिजुलीको माग १२२ मेगावाट बढेको प्राधिकरणले जनाएको छ । अहिले विद्युत प्राधिकरणका आयोजनाहरुबाट ४९२, निजी उत्पादकबाट ५९२ र भारतबाट २८२ मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
कुलेखानी जलाशय चलाउँदा विद्युत प्राधिकरणको उत्पादन ५३० र निजी क्षेत्रको ५८० मेगावाट छ । यस्तै कुलेखानीमा पानीको सतह बढेर १ हजार ५२६.७ मिटर पुगेको छ । कुलेखानीका ३ वटा आयोजनहरुबाट १०५ मेगावाटसम्म बिजुली उत्पादन क्षमता छ ।
चालू आर्थिक वर्षमा सरकारले १५०० मेगावाट बिजुली थप गरी जडित क्षमता ३ हजार पुर्याउने योजना लिएको छ । कोरोना भाइरस महामारीले गर्दा लक्ष्यमा रहेका अधिकांश आयोजना पूरा नहुने देखिएको छ । यद्यपी साउनयता १६ मेगावाट बिजुली प्रणालीमा थप भइसकेको छ ।
यो पनि पढ्नुस
लकडाउनले बिजुलीको माग २५५ मेगावाट घट्यो, विद्युतीय उपकरण प्रयोग गर्न कुलमानको आग्रह
बिजुलीको माग १०० मेगावाट घट्यो, आयातमा कमी, भारतमा ५८ मेगावाट निकासी