काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को संक्रिय संक्रमित २५ हजार पुगेपछि लकडाउन गर्ने स्वाथ्य मन्त्रालयको सिफारिसपछि व्यवसायीहरूले मन्त्री भानुभक्त ढकाललाई भेट गरेका छन् ।
राष्ट्रिय व्यावसायिक पहल(एनबीआई)का अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएका व्यवसायीहरूले स्वास्थ्यमन्त्री ढकाललाई लकडाउनको विकल्प सोच्न आग्रह गरेका हुन् ।
सरकारले लकडाउन खुकुलो पारेसगै विस्तारै अर्थतन्त्रले गति लिन शुरु गरेको भन्दै कोभिडले निम्त्याउन सक्ने जोखिम समाजमा केहि वर्ष सम्म रहन सक्ने विज्ञहरुले अनुमान गरेकाले सम्भावित जोखिम न्युनीकरण गरी व्यवसायिक क्रियाकलापलाई सुरक्षित एवं वैज्ञानिक रुपमा सञ्चालन गर्न निजी क्षेत्र प्रतिवद्ध रहेको बताए ।
उद्योग व्यवसाय संचालनका लागि तयार गरिएको स्वास्थ्य प्रोटोकलअनुसार संचालन भएरनभएको अनुगमन गर्न सरकारसँग आग्रह गरिएको बताए ।
एनबीआईसँगै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, चेम्बरका उपाध्यक्ष दीपक मल्होत्रा, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल(रेवान)का अध्यक्ष अरनिको राजभण्डारी लगायतले लकडाउनको विकल्प खोज्न आग्रह गरेका थिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले व्यवसायीहरूले लकडाउन थेग्न नसक्ने अवस्था आएकाले सरकारले त्यसका लागि नयाँ विकल्प खोज्नुपर्ने बेला आएको बताए ।
उनले नेपाली अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सबै खालका व्यवसाय धरासायी भएको बताउँदै समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दिर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्न सुझाव दिएका थिए ।
स्वास्थ्यमन्त्री ढकालले सरकार तत्कालै लकडाउन गर्ने पक्षमा नरहेको जवाफ दिएका छन् । ‘अहिलेको अवस्थामा २५ हजार मात्र सक्रिय बिरामीहरूलाई राख्न सक्ने अस्पतालको क्षमता भएकाले यस किसिमको सिफारिस गरिएको हो, स्वास्थ्यमन्त्री ढकाललाई उद्धृत गर्दै रेवानका अध्यक्ष राजभण्डारीले भने हामी अहिले लकडाउनको विकल्पका बारेमा सोचिरहेका छौं, तत्कालै आत्तिनु पर्दैन ।’