काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) अगावै औद्योगिक गतिविधिमा सुस्तता आएको पाइएको छ । गतिविधिमा सुस्तता आउँदा उद्योगहरूको क्षमता उपयोग घटेको पाइएको छ ।
लकडाउन अघिनै गत आर्थिक वर्ष ०७६/०७७ को साउनदेखि पुससम्ममा औद्योगिक क्षमताको उपयोग घटेर औसत ४० प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । यसअघि औद्योगिक क्षमता उपयोग बढेर ६२ प्रतिशतसम्म पुगेको थियो ।
लोडसेडिङ हटेर नियमित रूपमा विद्युत आपूर्ति भएपछि उद्योगको उपयोग क्षमता विस्तार हुँदै गएको थियो । लोडसेडिङ हुँदा औद्योगिक क्षमता खुम्चिएर ४० प्रतिशत हाराहारीमा थियो । ३ वर्षयता उद्योगको क्षमतामा विस्तार हुँदै आएको थियो ।
राष्ट्र बैंकले गत वर्षको साउनदेखि पुससम्म ६ महिनाको उद्योगको क्षमता उपयोग, उत्पादन तथा प्रत्यक्ष रोजगारीको अध्ययन गरेको थियो । समीक्षा अवधिमा सर्वेक्षणमा समेटिएका १५४ ठूला उद्योगको औसत क्षमता उपयोग ४० प्रतिशत देखाएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बताए । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये मदिरा उद्योगले सबैभन्दा बढी ९२.१ प्रतिशत क्षमता उपयोग गरेको देखिएको उनले जानकारी दिए ।
अध्ययनले समेटेका मध्ये तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, चक्लेट, चाउचाउ, मदिरा, सिन्थेटिक कपडा, जुटका सामान, रंग, औषधि, सिमेन्ट, घरेलु धातुका सामान, संरचनागत धातुका सामान, बिजुलीका तारको उत्पादन बढेको छ ।
वनस्पति घिउ, प्रशोधित दूध, पशुदाना, बिस्कुट, प्रशोधित चिया, बियर, हल्का पेय पदार्थ, चुरोट, धागो, गार्मेन्ट, प्रशोधित छाला, कागज, साबुन, प्लास्टिकका सामान, इँटा, कंक्रिट, फलामको छड तथा पाता, जीआईतार, जीआई पाइप, आल्मुनियम, टायर तथा ट्यूवको उत्पादन घटेको छ ।
विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँगै खानीजन्य उत्पादनमा समेत वृद्धि भएकाले औद्योगिक क्षेत्रको उत्पादन बढेको छ ।
प्रदेश १ मा वनस्पति घिउ तथा तेल, अन्य खाद्य पदार्थ, जुटका सामान, धातुका उपकरण, सिमेन्टलगायतको उत्पादन प्रमुख रहेको छ । प्रदेश २ मा कागज, चुरोट, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधि, फलामको छड तथा पत्ति उत्पादन बढी छ र
यसैगरी बागमती प्रदेशमा प्रशोधित दूध, पशुदाना, पश्मिना, तयारी पोसाक, औषधि, गण्डकी प्रदेशमा बिस्कुट, चाउचाउ, प्रदेश ५ मा तोरीको तेल, गहुँको पिठो, बियर, औषधि, सिमेन्ट तथा सुदूर–पश्चिम प्रदेशमा गहुँको पिठो, चिरेको काठ, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ ।
लकडाउनले सञ्चालनमा रहेका ६१ प्रतिशत उद्योग बन्द भएका थिए ।
अधिकांश उद्योग कम क्षमतामा संचालनमा रहेकोले क्षमता उपयोग बढाई उत्पादन र उत्पादकत्व वृद्धि, स्वदेशी औद्योगिक कच्चा पदार्थको उत्पादन बढाई औद्योगिक आपूर्ति श्रृंखला प्रभावकारी बनाई वृद्धि र सस्तो दरमा विद्युतीय ऊर्जा उपलब्ध गराउन अझै चुनौति देखिएको अध्ययनको निश्कर्ष छ ।
यस्तै कृषिलाई उद्योगसँग जोड्नु । लगानीमैत्री वातावरण सिर्जना गरी तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका निर्यातमुलक उद्योगमा प्रत्यक्ष विदेशी लगानी आकर्षण गर्न आवश्यक रहेको अध्ययनले सुझाएको छ ।
कोभिड–१९ को प्रभावका कारण धेरै समय उद्योग बन्द रहेका कारण श्रम–सम्बन्ध टुटेका कारण सहज रुपमा पुनः सञ्चालन र चालुकर्जा प्राप्त गर्न अझै चुनौति देखिएको छ ।