काठमाडौं । सरकारले दसैंअघि नै देशभरका अवरुद्ध सडक खुलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउने भएको छ ।
लामो समयसम्म सार्वजनिक यातायात नचल्दा बिग्रेका र भत्केका सडकको मर्मत सम्भार गर्ने र वर्षाका कारण अवरुद्ध सडक खुलाएर दसैंमा सहज रुपमा घर जाने वातावरण मिलाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
शनिबार संसदको विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा मन्त्री वसन्तकुमार नेम्वाङले वर्षाका कारण अवरुद्ध सडक खुलाइने र सडक मर्मत गरी यात्रालाई सहज बनाइने बताए ।
दसैं र तिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई सहज यात्राका लागि सडक मर्मत र स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले जानकारी दिए । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले केही राजमार्ग पूर्ण रुपले अवरुद्ध भए पनि अधिकांश एकतर्फी रुपमा खुलिसकेको बताए ।
त्यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैंमा यात्रुलाई सुरक्षित घर फर्किने व्यवस्था मिलाउन लागिएको बताए । विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका समेत पालना गराइरहेको छ ।
समितिका सभापति कल्याणीकुमारी खड्काले मुख्य राजमार्गको अवस्था नै खराब रहेको बताइन् । सडकमा रहेका खाल्टाखुल्टीका कारण दुर्घटना हुन सक्ने बताउँदै उनले मन्त्रालय र विभागले यसमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
समितिका सदस्य लीलानाथ श्रेष्ठ, आशाकुमारी विक, यज्ञराज सुनुवार, केदार सिग्देल, अनिलकुमार झा, टेकबहादुर बस्नेत, सञ्जयकुमार गौतम र रङ्गमती शाहीले लामो समयसम्म थन्किएका सवारी साधनको अवस्था खराब भएकाले त्यसले दुर्घटना निम्ताउन सक्ने बताए ।
उनीहरुले दसैं पहिले नै वर्षाका कारण अवरुद्ध सडक खोल्न र खाल्डाखुल्ल्डी भएका ठाउँमा मर्मत गर्नुपर्ने औँल्याएका थिए ।