काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आवेदन दिने ४ वटा कम्पनीले लामो समय बितिसक्दा पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छैनन् ।
सीईडीपी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले आवेदन दिएको लामो समय भइसकेको छ । उसले २०७४ असार २७ गते बोर्डमा आवेदन दिएको थियो ।
उसले आवेदन दिएको ४ वर्ष बितिसक्दा पनि आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छैन । सीईडीबीले बोर्डलाई अन्तिम कमेन्ट २०७६ कात्तिक २५ गते पठाएको छ । त्यसपछि पहल भएको देखिएको छैन ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति मागेको ३ वर्ष पूरा भएको छ । उसले पनि पाएको छैन । यस्तै सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडले पनि ०७५ असार १२ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
सीबीआईबीएल बोर्डमा पुगेको ३ वर्ष बितिसक्यो तर उसले अहिलेसम्म अनुमति पाएको छैन । २०७५ साउनदेखि बोर्ड र कम्पनीबीच पत्राचार भएको छैन । शुभम् पावर लिमिटेडले २०७५ भदौ २७ गते आईपीओ निष्कासन गर्न बोर्डमा पुगेको थियो । बोर्ड र शुभम्बीच २०७५ फागुनमा अन्तिम पटक पत्राचार भएको थियो । त्यसपछि कुनै प्रगति भएको छैन ।
प्रक्रिया पूरा नगरेको कम्पनीहरूले आईपीओ निष्कासन गर्न अनुमति नपाएको नेपाल धितोपत्र बोर्डका प्रवत्ता निरज गिरी बताउँछन् । उनले प्रक्रिया पूरा गरेर आएका कम्पनीको आईपीओ निष्कासन नरोकिएको बताए ।
उनकाअनुसार, पछिल्लो समयमा अजोड इन्स्योरेन्स लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्कास गर्न अनुमति पाएका छन् । बोर्डमा आवेदन दिएका मध्य केही कम्पनीले आईपीओ रोक्न भनेको पनि उनले सुनाए ।
लामो समयदेखि आईपीओ निष्कासनको अनुमति नपाएको सीईडीबी हाइड्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय भण्डारीले कतिपय कम्पनीले गर्दा र नीतिगत कारणले आईपीओ निष्कासन रोकिएको बताउँछन् ।
जलविद्युत कम्पनीहरूका सेयर मूल्य तल झर्दा प्रत्याभूतिकर्ता (अन्डर राइटर) हरूले स्वीकार नगर्ने भनेपछि आईपीओ रोकिएको उनको भनाइ छ । अब सीईडीबीले छिट्टै बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाउने सीईओ भण्डारीले जानकारी दिए ।
आईपीओ निष्कासन गर्न १४ वटा कम्पनीले बोर्डमा आवेदन दिएका छन् । उनीहरूले ३ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ बराबरका ३ करोड ८४ लाख ७३ हजार ७४६ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको बोर्डले जनाएको छ ।