काठमाडौं। विद्युतीय सवारी साधन (ईभी)प्रति आकर्षण तीव्र बढ्दो भए पनि सर्भिस र पार्टसको अभावले यसको सेकेण्ड ह्याण्ड बजारमा अन्यौलता थपिएको छ। नयाँ ईभी हेर्दा उत्साह देखाउने ग्राहकहरू रिसेल (दोस्रो) बजारको चर्चा हुँदा दोधारमा पर्ने गरेका छन्।
विश्व बजारमै ईभी नयाँ प्रविधिको रुपमा सन् २०१० देखि विस्तार भएको मानिन्छ। नेपालमा सोही वर्षदेखि ईभीको आयात सुरु भयो। तर, नेपाली बजारमा ईभीको वास्तविक माग सन् २०१८ पछि मात्र देखियो। आज काठमाडौंका सडकहरूमा जति तीव्र गतिमा नयाँ ईभी थपिँदै छन्। त्यत्तिकै विपरीत, सेकेण्ड ह्याण्ड ईभीको बजार जवाफदेहीरहित, कम सञ्चार र लगभग सुनसान जस्तै छ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाका अनुसार अहिले समग्र सेकेण्ड ह्याण्ड बजार सुस्त छ। तर, ईभीको अवस्था थप कमजोर छ। ‘आईसीइ इञ्जिन गाडीको पनि बिक्री छैन। झन ईभी त अझै चल्दैन,’ उनले भने, ‘रिसेल भ्यालु कमजोर हुनु, ऋण सुविधा नहुनु र पार्टस स्टकमा नहुँदा ईभीप्रति ‘सेकेण्ड ह्याण्ड’को बजार शंकाभित्रै सीमित छ।’
केन्द्रीय उपाध्यक्ष प्रविण लामिछाने पनि यसको मुख्य कारणमा पार्टस् महँगो, मर्मत प्रक्रिया झन्झटिलो र रिफाइनान्सिङ सुविधा शून्य रहेको बताउँछन्। चीनबाट आयात हुने पार्टसहरू बाढी पहिरोले बाटो अवरुद्ध हुँदा महिनौँ ढिलो पुग्ने अवस्था, नेपालमै सर्भिस सेन्टरको कमी जस्ता कारणले ग्राहकको विश्वास कमजोर भएको छ। ‘ईभी सेकेण्ड ह्याण्ड किन्नेभन्दा पनि रिस्क किन्ने जस्तो हुन्छ,’ उनी भन्छन्।
ईभीको ब्याट्री वारेन्टी र कति किलोमिटर कुदायो त्यसको आधारमा गाडी मूल्यांकन गर्न कठिन पर्छ। वारेन्टी सकिएपछि ब्याट्री फेर्नु परे गाडीको आधा मूल्यसम्म खर्च हुन्छ।
राज अटो सेन्टरका सञ्चालक राज लुइँटेलले पनि यसअघिकै जस्ता विषय दोहोर्याउँछन। सामान्य मर्मतका लागि पार्टस् अनटाइम उपलब्ध नहुने, दक्ष प्राविधिकको अभाव र ब्याट्री, मोटरसँगै कन्ट्रोलर मर्मत गर्ने जनशक्ति अत्यन्तै सीमित हुँदा ग्राहकलाई सेकेण्ड ह्याण्ड ईभीतिर नलाग्न बाध्य बनाएको छ। आईसीई गाडीमा चाहे जस्तो सहजता, सर्भिस सेन्टर, सहज मेकानिक, उपलब्ध पार्टस् ईभी बजारले अझै दिन सकेको छैन।
यसका अतिरिक्त ईभीको ब्याट्री लागत सबैभन्दा ठूलो चिन्ता हो। सामान्यतः ७-८ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी पाइने भए पनि ६ वर्ष पुरानो ईभी किन्ने उपभोक्ताले बाँकी वारेन्टी, ब्याट्री ह्रास र सम्भावित भविष्य लागतबारे गहिरो आशंका गर्न थालेका छन्। ९ वर्षमा ब्याट्री किन्न परे कति लागत आउँछ? भन्ने कुराले सेकेण्ड ह्याण्ड ईभी गाडी किन्नेमा अन्यौल हुन सक्छ।
ईभीको ब्याट्री वारेन्टी र कति किलोमिटर कुदायो त्यसको आधारमा गाडी मूल्यांकन गर्न कठिन पर्छ। वारेन्टी सकिएपछि ब्याट्री फेर्नु परे गाडीको आधा मूल्यसम्म खर्च हुन्छ। साथै ईभीको पार्टस् अनटाइम उपलब्ध नहुनु र महँगो हुनुले पनि धेरै उपभोक्ता सेकेण्ड ह्याण्ड ईभी खरिद गर्न सोच्न बाध्य हुने गरेका छन्।
यी बहुआयामिक समस्याका कारण नयाँ ईभीको लोकप्रियता बढिरहँदा सेकेण्ड ह्याण्ड ईभी भने ग्राहकको पहिलो रोजाई बन्न सकेको छैन।
सरकारले कर छुटमार्फत ईभी प्रवर्द्धनमा जोड दिए पनि बिक्रीपछिको सेवा, पूर्वाधार, सर्भिस सेन्टर विस्तार, दक्ष प्राविधिक उत्पादन जस्ता आधारभूत पक्षमा ध्यान नदिएको आलोचना बजारमा उठिरहेको छ। बिक्रेता कम्पनीहरू पनि बिक्रीमै केन्द्रित भएका छन्। जबकी, सर्भिस् र पार्टस् नेटवर्क विस्तारमा उनीहरूको लगानी न्यून छ।
यी बहुआयामिक समस्याका कारण नयाँ ईभीको लोकप्रियता बढिरहँदा सेकेण्ड ह्याण्ड ईभी भने ग्राहकको पहिलो रोजाई बन्न सकेको छैन। बजार विश्लेषकहरू भन्छन्-नेपालमा ईभीको वास्तविक भविष्य त्यतिबेला मात्र उज्यालो हुन्छ, जब पार्टस् उपलब्धता, मर्मत सुविधा र ब्याट्री मूल्यांकन प्रणाली विश्वसनीय र सहज बन्ने छन्।
अहिलेको अवस्थामा सेकेण्ड ह्याण्ड ईभी बजार अझै परिपक्व हुन समय लाग्ने संकेत दिएको छ।