काठमाडौं । काठमाडौं–तराई दु्रतमार्ग(फास्ट ट्रयाक) को सुरुङमार्ग निर्माण गर्न विभिन्न २७ वटा कम्पनीले पूर्वयोग्यता प्रस्ताव पेश गरेका छन् । दुईवटा प्याकेजमा तीनओटा सुरुङमार्ग निर्माण गर्न ती कम्पनीले प्रस्ताव हालेका हुन् ।
पहिलो प्याकेजको सुरुङतर्फका लागि २१ वटा र दोस्रो प्याकेजका लागि २२ वटा कम्पनीले प्रस्ताव पेश गरेका हुन् । तर, तीमध्ये १६ वटा कम्पनीले भने पहिलो र दोस्रो प्याकेजका लागि पूर्वयोग्यता प्रस्ताव पेश गरेका थिए । अर्थात, दोहोरिएर प्रस्ताव पेश गर्नेसहित गरी २७ वटा फरक–फरक कम्पनीले प्रस्ताव पेश गरेको नेपाली सेना प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
पूर्वयोग्यता प्रस्ताव पेश गर्ने कम्पनीहरुको बोलपत्र सेनाले शुक्रबार खोलिसकेको छ । प्रस्ताव पेश गर्ने कम्पनीहरुको पूर्वयोग्यताको मुल्याङ्कन सुरु गर्ने पाण्डेले बताए ।
‘प्रस्ताव पेश गर्ने कम्पनीको प्रि–क्वालिफिकेसन् मुल्यांकन सुरु गर्दैछौं । त्यसका लागि हामीलाई करिव ४ हप्ता जति समय लाग्छ होला’ उनले भने, ‘पूर्वयोग्यता मुल्यांकनबाट छनौट कम्पनीको सर्टलिस्टिङ गरेर सुचना निकाल्छौं । त्यसपछि अन्र्तराष्ट्रिय परामर्शदाता कम्पनीले दिएको डिजाइनअनुसार उहाँहरुलाई ‘बिड डकुमेन्ट’ दिन्छौं ।’
पहिलोे प्याकेजमा महादेवडाँडादेखि छोक्रेडाँडासम्मको ३.३५ किमी सुरुङमार्ग पर्छ त्यस्तै, दोस्रो प्याकेजमा दुइओटा सुरुङमार्ग बनाउनुपर्छ । छोक्रेडाँडा–धोद्रेखोला १.६३ किमी र धोद्रेखोलादेखि लेनडाँडासम्मको १.४२ किमीको सुरुङमार्गका लागि २२ ओटा विदेशी कम्पनीले प्रस्ताव हालेका छन् ।
पूर्वयोग्यताका लागि तोकिएको मापदण्ड पूरा गरेका निर्माण कम्पनीहरूकोे मूल्याङ्कन गरेर बोलपत्र मूल्याङ्कन समितिले दोस्रो चरणमा नाम सूचीकृत गर्ने छ । सुरुङमार्ग निर्माणको डिजाइन कोरियन परामर्शदाता युसिन इन्जिनियरिङ कर्पोरेसनले तयार पारेको छ । सो डिजाइनअनुसार नै ठेक्का पाउने कम्पनीले सुरुङमार्ग निर्माण गर्ने गरी सेनाले जिम्मा दिनेछ ।
काठमाडौं–तराई मधेशद्रुतमार्ग सडक खण्डको कुल लम्बाई ७२.५ किमीमध्येमा सुरुङमार्ग ६.४१ किमी, पुल १०.५१ किमी र ५५.५ किमी सडक खण्डमा निर्माण सडक विस्तार गर्नुपर्ने छ ।
यसअघि कोरियाको सुसुङ इञ्जिनीयरिङ एन्ड कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआरलाई संशोधनसहित मन्त्रीपरिषद्ले स्वीकृती भइ अघि बढाइएको छ ।
खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङकनमा केही संशोधन गरिएको थियो ।
महत्वपूर्ण मानिएका विशेष प्रकृतिका पुल, सुरुङ र डिजाइनमा पनि केही शंसोधन गरी आगामी तीन बर्षभित्र आयोजन सम्पन्न गर्ने सेनाको योजना छ ।
७४ मिटर अग्ला र लामा तथा १६ वटा विशेष प्रकृतिको पुल निर्माण गर्नुपर्ने छ । त्यस्ता, पुल झण्डै आधा किलोमिटर लामासम्म हुनेछन् ।
तीन वटा सुरुङको लम्बाइ ६.४१ किमि छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहने छ ।
प्रारम्भिक चरणका काम एसियाली विकास बैंक (एडीबी) द्वारा तयार गरिएको सम्भावित अध्ययन र प्रारम्भिक डिजाइन तथा सेनाले बनाएको विस्तृत इञ्जिनीयरिङ सर्भे र अलाइमेन्ट डिजाइनका आधारमा काम गर्दै आएको थियो ।
चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुनेछ । खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुनेछ ।
हालसम्म जग्गा अधिग्रहणको कार्य ९८ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत प्रगति भइसकेको छ ।