काठमाडौं । बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञा अन्त्यपछि दैनिक औसत १ अर्ब रुपैयाँ राजस्व संकलन हुन थालेको छ । निषेधाज्ञा हटेपछि आर्थिक गतिविधि बढेकोसँगै राजस्व संकलनमा क्रमिक रूपमा सुधार आउन थालेको अर्थ मन्त्रालयले जनाएको छ ।
खासगरी, सीमा नाकामा कडाइले ‘अनरुटबाट’ सामान भित्रिन थालेपछि दैनिक रूपमा औसत १ अर्ब रुपैयाँ राजस्व संकलन हुन थालेको अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बताए ।
‘राजस्व लक्ष्य अनुरूप नउठे पनि दैनिक औसत रूपमा १ अर्ब रुपैयाँ संकलन भइरहेको छ,’ ढुङ्गानाले क्यापिटल नेपालसँग भने, ‘पछिल्ला दिनहरूमाआर्थिक गतिविधि बढेकाले अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव परेको हो ।’
एकातिर सरकारले निषेधाज्ञा अन्त्य गर्यो भने अर्कोतिर चोरी पैठारी भएर आउने सामान पूर्णरूपमा बन्द भए । त्यसैको असर राजस्वमा उठ्तीमा परेको हो । ‘ग्रे मार्केट’ बन्द हुने बित्तिकै अनरुटमा सामान भित्रिन्छन्, त्यसरी सामान भित्रिँदा स्वतः राजस्व आइहाल्ने उनको भनाइ छ ।
अहिले धमाधम एलसी पनि खोल्ने कार्य सुरु भइसकेको छ । सरकारले विद्युतीय गाडीमा लाग्दै आएको अन्तःशुल्क पनि घटाएको छ । अब राजस्व वृद्धि हुने अर्थको अनुमान छ । गहुँ आयातमा लाग्दै आएको ९ प्रतिशत भन्सारलाई पनि घटाएर ५ प्रतिशतमा झारिएको छ ।
त्यसो हुने बित्तिकै विदेशबाट गहुँको पीठो तथा मैदा आयात हुँदैन । स्वदेशकै उत्पादनको खपत हुन्छ । जति बढी स्वदेशी उत्पादनको खपत बढ्यो त्यति नै राजस्व उठ्तीमा पनि सकारात्मक प्रभाव पर्छ ।
‘लक्ष्य अनुरूप त राजस्व उठ्न सकेको छैन । उठ्ने स्थिति पनि छैन,’ उनले भने, ‘तर, अर्थतन्त्रमा विस्तारै–विस्तारै सुधार आइरहेको छ । आर्थिक गतिविधि चलायमान भइरहेको छ । माग विस्तारै बढ्दै गइरहेको छ । उत्पादन बढ्दै गइरहेको छ ।’
उनका अनुसार ६ महिनादेखि कोरोनाले अर्थतन्त्रमा नराम्रो असर पारेको छ । त्यो आजको भोलि पुरानै अवस्थामा फर्किने भन्ने हुँदैन । केही समय लाग्छ । पुरानै अवस्थामा फर्किने लक्षण अर्थतन्त्रमा देखिसकिएको छ ।
‘उद्योगी÷व्यवसायी आजको भोलि पुरानै अवस्थामा आउनुपर्यो भन्नुहुन्छ,’ उनले भने, ‘त्यो सम्भव हुँदैन । विस्तारै ‘रिकभर’ हुन्छ र भइरहेको पनि छ ।’
त्यसैगरी, सरकारले पनि आन्तरिक खपत बढाउन र चोरी पैठारी रोक्न विशेष काम गरिरहेको छ । सीमामा मान्छे आवत–जावत पूर्णरूपमा रोकिएको छ । सम्पूर्ण व्यवसाय वैधानिकतर्फ आइरहेको छ । यस्तो अवस्था नेपालको अर्थतन्त्रलाई ‘रिभाइभ’ हुन धेरै समय नलाग्ने उनको भनाइ छ ।