काठमाडौं । १४ वटा कम्पनीको रू. ३ अर्ब ८५ करोड बराबरको आईपीओ आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएसँगै १४ वटा कम्पनीको आईपीओ आउने भएको हो ।
ती कम्पनीले ३ करोड ८४ लाख ७३ हजार ७४६ कित्ता आईपीओ निष्कानस गर्नको लागि बोर्डमा निवेदन दिएका हुन् । जसमध्ये १० वटा जलविद्युत कम्पनी, एक मर्चेण्ट बैंक र तीनवटा अन्य समूहका कम्पनी रहेका छन् ।
निवेदन दिएका ती कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको छ । कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो ।
उक्त आईपीओ कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण्को लागि निष्कासन गर्नेछ । १० ओटा जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोसी जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर, बिन्ध्यवासिनी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, रुरु जलविद्युत् कम्पनी र माउण्टेन इनर्जी नेपालले स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएका हुन् भने बाँकी कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नेछन् ।
केही जलविद्युत् कम्पनीले लामो समय पुगिसक्दा पनि स्वीकृति पाएका छैनन् । जलविद्युत् कम्पनीहरुले आईपीओ निष्कासन गर्नको लागि सुरुमा जलविद्युत् नियमन आयोगको स्वीकृति पाएपछि मात्र बोर्डमा निवेदन दिन पाउनेछन् ।
आयोग बन्नु बन्दा पहिला निवेदन दिएका कम्पनीको हकमा पनि पुनः जलविद्युत् नियमन आयोगको स्वीकृति पाएपछि मात्र बोर्डले स्वीकृति दिन्छ । सोही कारण केही जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिमा ढिलाइ भएको हो ।
सुरुमा ग्रेड ५ रेटिङ पाएका कम्पनीले आईपीओ निष्कासन गर्न पाउने व्यवस्था भएको तर पछि नियामक निकाय सेबोनले व्यवस्था परिवर्तन गरी ग्रेड ४ रेटिङ पाएका कम्पनीले मात्र आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरेकाले पनि ढिला भएको बोर्डका सहप्रवत्ता रुपेश केसीले बताए ।
उनका अनुसार कतिपय कम्पनीको आवश्यक कागजात नपुगेको र कागजातहरु कम्पनीबाट नआएकोले स्वीकृतिमा ढिलाइ भएको हो ।

स्रोत : नेपाल धितोपत्र बोर्ड