काठमाडौं । कोरोना महामारीले ६ महिनासम्म सिथिल रहेको माग र उत्पादन दसैं लागेसँगै बढ्न थालेको छ । बन्दाबन्दी (लकडाउन) र निषेधाज्ञाले दैनिक अत्यावश्यक बाहेक उत्पादनको माग शून्यमा झरेको थियो । तर, दसैं भित्रिएसँगै अत्यावश्यक बाहेकका उत्पादनको माग र उत्पादन दुवै बढेको छ ।
व्यापारीका अनुसार दैनिक उपभोग्य वस्तुबाहेक कार्पेट, टायललगायतका उत्पादनको माग बढ्न थालेको छ । त्यसैगरी, हिजोका दिनमा न्यून उत्पादन हुने वस्तुको पनि माग बढेको उद्योगीहरू बताउँछन् ।
दसैं लागेसँगै सबैखाले वस्तुको माग बढेकाले उत्पादन पनि बढाइएको छ । त्यसैगरी, डेलिभरी पनि राम्रो हुन थालेको उद्योगी वीरेन्द्र साह बताउँछन् । जुत्ता, चप्पल, कार्पेटलगायतका वस्तुको उत्पादन पनि बढ्न सुरु गरेको छ ।
‘अहिले देखिएको माग कहिलेसम्म रहन्छ भन्ने टुङ्गो छैन,’ उनले भने, ‘यसैगरी माग बढ्न थाल्यो भने अर्थतन्त्रले विस्तारै आफ्नो लय समात्न सक्छ । तर, असारको जस्तै भयो भने फेरि समस्या हुनसक्छ ।’
खाद्यान्न, चिनीलगायतका माग त एउटा लेवलमा हुन्छ । तर, अहिले जुत्ता, चप्पल, दुईपाङ्ग्रे सवारी साधन र मोबाइलको बिक्रीमा चढाव देखिएको छ ।
शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालका अनुसार दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनको बिक्री राम्रो छ । तर, सिमेन्ट, स्टिललगायतका व्यापार सन्तोषजनक नभएको उनको भनाइ छ ।
तर, अहिले उद्योगीले उत्पादन लागतभन्दा सस्तोमा सिमेन्ट तथा स्टिल बेचिरहेका छन् । ‘बजारमा अत्यधिक प्रतिस्पर्धा छ । कसले सस्तोमा दिने भन्ने होडबाजी चलेको छ,’ उनले भने, ‘आफूलाई बजारमा टिकाइरहन पनि सस्तोमै सामान बेचेर उद्योगी बसेका छन् ।’
उनका अनुसार अहिले अर्थतन्त्रलाई चलायमान बनाउन अटो क्षेत्रको योगदान छ । त्यसबाहेक धेरै क्षेत्र सुस्त छ । उद्योगी साहका अनुसार विस्तारै माग बढ्न थालेको छ । यसले केही उत्साह पलाएको छ ।
उद्योगीले आफ्नो क्षमताको ६० प्रतिशतसम्म उत्पादन गर्न थालेका छन् । जबकि, लकडाउन र निषेधाज्ञाको बीचमा ३० प्रतिशतमा उत्पादन सीमित भएको थियो । दसैं, तिहार तथा छठपर्व नजिकिँदै गरेको र त्यसैको असर व्यापार सकारात्मक परेको उनीहरू बताउँछन् ।