काठमाडौं। विश्व चर्चित प्रविधि उद्यमी एलन मक्सको गाडी निर्माता कम्पनीले टेस्लाका लागि आवश्यक चिप्स खरिद गर्न कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्ससँग १६.५ अर्ब अमेरिकी डलरको आपूर्ति सम्झौता भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार मस्कले सम्झौता भएको पुष्टि गरेसँगै सामसङको सेयर ६.८ प्रतिशलेले बढेर गत वर्ष सेप्टेम्बरयता उच्चतम् विन्दुमा पुगेको उल्लेख गरेको छ। सामसङको सेयर करिब ७ प्रतिशतले बढेको समाचार रोयटर्सले सम्प्रेषण गरेको हो। यस्तै, अमेरिकामा टेस्लाको सेयर पनि प्रि-मार्केट ट्रेडिङमा १.९ प्रतिशतले बढेको जनाइएको छ।
सामसङले ठूला ग्राहकहरूलाई कायम राख्न र आकर्षित गरिरहन संघर्ष गरिरहेको समयमा यो परियोजना अघि बढेसँगै यसलाई अर्थपूर्ण मानिएको छ। यो सम्झौताले घाटामा पुगेको सामसङको व्यवसायलाई बल पुर्याउने अपेक्षा गरिएको छ। सामसङको टेक्सासस्थित टेलर कारखानाले टेस्लाको अर्को पुस्ताको एआई६ चिप उत्पादन गर्ने योजना रहेको मस्कलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
'सामसङले टेस्लालाई उत्पादन दक्षता अधिकतम बनाउन सहयोग गर्न अनुमति दिएको छ। म व्यक्तिगत रूपमा उत्पादन लाइनमा उपस्थित भई प्रगतिको गति बढाउने छु। कारखाना मेरो घर नजिक भएकाले पनि यो सुविधाजनक छ,' मक्सले भनेका छन्, '१६.५ अर्ब डलर भनेको न्यूनतम रकम हो। वास्तविक उत्पादन यसभन्दा धेरै गुणा बढी हुने सम्भावना छ।'
हाल सामसङले टेस्लाका एआई४ चिप उत्पादन गर्छ। जसले टेस्लाको फुल सेल्फ ड्राइभिङ (एफएसडी) प्रणालीलाई शक्ति दिन्छ।
कोरियन कम्पनी सामसङको फ्याक्ट्रीसँग हालसम्म खासै ग्राहक थिएनन्। त्यसैले यो सम्झौता निकै महत्वपूर्ण मानिएको छ। गत अक्टोबरमा सामसङले आफ्नो टेक्सासस्थित फ्याक्ट्रीका लागि एएसएमएल.एस चिप उत्पादन उपकरण आपूर्ति बन्द गरेको समाचार प्रकाशित भएका थिए।
एआई६ चिप उत्पादन कहिलेदेखि उत्पादन हुनेछ भन्ने समयबारे ठ्याक्कै जानकारी दिइएको छैन। तर, मस्कले पहिले एआई५ चिप २०२६ अन्त्यमा उत्पादन हुने बताएका थिए। यसपछि एआई ६ आउन सक्ने देखिन्छ।
एसके सेक्युरिटिजका विश्लेषक ली डङ-जुले भनेका छन्, 'एआई६ उत्पादन २०२७ वा २०२८ मा सुरु हुन सक्छ। तर, टेस्लाले विगतमा आफ्ना योजनाहरू कार्यान्वयन गर्न ढिलाइ गरेको इतिहास छ।'
हाल सामसङले टेस्लाका एआई४ चिप उत्पादन गर्छ। जसले टेस्लाको फुल सेल्फ ड्राइभिङ (एफएसडी) प्रणालीलाई शक्ति दिन्छ। मस्कका अनुसार एआई५ चिप ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)ले ताइवान र पछि एरिजोनामा चिप उत्पादन गर्ने छ। सामसङले विश्वको अग्रणी मेमोरी चिप निर्माता ग्राहकहरूले डिजाइन गरेका लोजिक चिप पनि बनाउँदै आएको छ।
सामसङलाई राहात
ट्रेन्डफोर्सको तथ्यांकअनुसार हाल सामसङले विश्वव्यापी फाउन्ड्री बजार (ग्राहकले डिजाइन गरेका सेमिकन्डक्टर चिप वा इलेकट्रोनिक घटक उत्पादन गर्ने उद्योग वा कम्पनी)मा केवल ८ प्रतिशत हिस्सा मात्र ओगटेको छ। तर, टीएसएमसीको ६७ प्रतिशत बजार हिस्सा छ।
सामसङ एआई चिप प्रतिस्पर्धामा ताइवानी कम्पनी टीएसएमसी र दक्षिण कोरियामा आधारित विश्वको दोस्रो ठूलो मेमोरी चिप निर्माता एसके हाइनिक्सभन्दा पछाडि परेको छ। नाफा र सेयर दुवैमा नकारात्मक असर पारेको छ। सामसङले दोस्रो त्रैमासिक सञ्चालन नाफा ५६ प्रतिशतले घट्ने अनुमान गरेको थियो। जसमा फाउन्ड्री व्यवसायको घाटालाई मुख्य कारण मानिएको थियो।
'यो सम्झौताले सामसङको फाउन्ड्री घाटा कम गर्न मद्दत गर्ने छ। पहिलो छ महिनामा मात्र घाटा ५ ट्रिलियन वान (३.६ अर्ब अमेरिकी डलर)भन्दा बढी थियो,' किवुम सेक्युरिटिजका विश्लेषक पाक युक भन्छन्।
सिओलले चिप र जहाज निर्माण क्षेत्रमा अमेरिकी साझेदारी खोजिरहेको छ भने २५ प्रतिशत अमेरिकी कर हटाउने वा घटाउने प्रयास भइरहेको छ।
विश्लेषकहरूले सामसङले आफ्ना महत्त्वपूर्ण ग्राहक गुमाउँदै टीएसएमसी तिर जान थालेको र प्रविधिक चुनौतीका कारण प्रतिस्पर्धामा टिक्न संघर्ष गरिरहेको बताएका छन्। टीएसएमसीसँग एप्पल, एनभिडिया र क्वालकम जस्ता ठूला ग्राहकहरू छन्।
सामसङले ती ठूला ग्राहकहरूलाई आकर्षित गर्ने चुनौती भोगिरहेको छ। एआई चिप बजारमा प्रतिस्पर्धा बढ्दो छ। टेस्लासँगको यो सम्झौताले सामसङलाई ठूला ग्राहक पुनः तान्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
व्यापारिक प्रभाव र कूटनीति
टेस्ला र सामसङ सम्झौता दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेका व्यापार वार्तासँग सम्बन्धित हो वा होइन भन्ने स्पष्ट छैन। सिओलले चिप र जहाज निर्माण क्षेत्रमा अमेरिकी साझेदारी खोजिरहेको छ भने २५ प्रतिशत अमेरिकी कर हटाउने वा घटाउने प्रयास भइरहेको छ।
एलन मस्क र सामसङबीच १६.५ अर्ब डलरको सम्झौता सामसङको फाउन्ड्री व्यवसायलाई बल पुर्याउने मात्र नभई टेस्लाको स्वचालित कार प्रविधि र भविष्यका एआई परियोजनाका लागि पनि महत्वपूर्ण मानिन्छ।
सेयर मूल्य वृद्धिदेखि घाटा कटौतीसम्म यो सम्झौताले टेक उद्योगमा ठूला प्रभाव पार्ने निश्चित देखिन्छ। एआई चिप बजारमा बढ्दो प्रतिस्पर्धाबीच सामसङले टेस्लाजस्तो ग्राहकलाई पाएको सफलताले भविष्यमा उसको प्रविधि र बजार हिस्सामा निर्णायक बन्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।