काठमाडौं। किङ्स कलेजद्वारा आयोजित नेपाल उद्यमशीलता फोरम आज सामाजिक उद्यमशीलतासम्बन्धी विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ। 'टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम' भन्ने मूल नारासहितको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपाल र विदेशका पाँच सयभन्दा बढी उद्यमीहरू, विचार नेताहरू, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षक तथा विद्यार्थीलाई एकै मञ्चमा ल्याएको थियो।
शैक्षिक दृष्टिकोण र व्यवहारिक अनुभवलाई एकआपसमा जोड्दै उद्यमशीलताको विविध पक्षमा अर्थपूर्ण संवाद एवं छलफलहरू गर्न सम्मेलन सफल भयो। 'दुई दिनको अवधिमा नेपाल उद्यमशीलता फोरम २०२५ दिगो व्यवसाय, प्रविधि नवप्रवर्तन र समावेशी वृद्धिका नयाँ विचार तथा ज्ञानहरू बाँड्ने सक्रिय मञ्च बन्यो,' सम्मेलन संयोजक सगुन बाबा श्रेष्ठले भने, 'यो केवल छलफलमा सीमित भएन। बरु सरोकारवाला र अभ्यासहर्ताबीच बास्तविक र बलियो सम्बन्ध निर्माण गर्दै सबैलाई नेपालको उद्यमशील भविष्यलाई थप सशक्त र लचिलो बनाउने प्रेरणा दियो।'
विभिन्न प्यानल छलफलमा आर्थिक स्वतन्त्रता, समावेशी शिक्षा, जलवायु (स्मार्ट अभ्यास, मार्गदर्शन (मेन्टोरशिप), नीतिगत सुधार, तथा सार्वजनिक निजी साझेदारीजस्ता विषयमा गहिरो विमर्श गरिएको थियो।
नवप्रवर्तन, अर्थतन्त्र, समुदाय, समावेशिता र विकाससँग सम्बन्धित सामाजिक उद्यमशीलताका विभिन्न पक्षमा केन्द्रित छलफलपछि उद्यमशीलताको अवधारणामा नाफा, उद्देश्य र वातावरणीय जिम्मेवारी कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित भएको थियो।
किङ्स कलेजका अनुसार यो सम्मेलन सन् २०१६ मा आयोजित अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलनदेखि हालसम्मको यात्राबीचको विशेष उपलब्धिको रूपमा चिनिएको छ।