काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यो वर्ष कुनै पनि गाडी, ल्यापटप, कम्प्यूटर, सोफासहित कार्यालय सामानहरु खरिद नगर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ सालको बजेट सार्वजनिक गर्दै प्राधिकरणले यो वर्ष कुनै पनि नयाँ विमानस्थल निर्माण नगर्ने र कार्यालय प्रयोजनका लागि आवश्यक सामान पनि खरिद नगर्ने भएको हो।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले देशभरिका विमानस्थलबाट आएको बजेटमध्ये करिब १७ अर्ब रुपैयाँ कटाएर ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरिएको जानकारी दिए। यो भनेको गत वर्षको तुलनामा दुई अर्ब ७१ करोड ६९ लाख बजेट कम हो। गत आर्थिक वर्षमा ३४ अर्ब १२ करोड १६ लाख विनियोजन भएको थियो।
विगत तीन वर्षदेखि प्राधिकरणको बजेटमा कटौती गर्दै आएको बताउँदै यो वर्ष पनि त्यसकै निरन्तरता दिँदै साढे दुई अर्ब बढी बजेट घटाएको उनले बताए। ठूला विमानस्थल निर्माण नभएको र भएका विमानस्थल सञ्चालनमा मात्र रहेकाले पनि बजेटको आकार घटेको उनले बताएका थिए।
‘विगतको वर्षमा धेरै सामानहरु खरिदका लागि बजेट विनियोजन हुने गरेको थियो,’ महानिर्देशक अधिकारीले भने, ‘यो वर्ष जति चाहिन्छ। त्यतिमा मात्र बजेट ल्याएका छौँ, अनावश्यक खर्च कटौती भएको छ।’
प्राधिकरणले चालु आवका लागि समग्रमा बजेट घटे पनि पुँजीगततर्फको बजेट बढाएर १२ अर्ब ३९ करोड ७० लाख बनाइएको छ। गत वर्ष ११ अर्ब ५२ करोड २५ लाख रुपैयाँ छुट्याइएको थियो।
किन घट्यो वित्तीय व्यवस्थापको बजेट
गत वर्षको तुलनामा यो वर्षको बजेटमा वित्तीय व्यवस्थापनतर्फको बजेट पनि घटाइएको छ। चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापनतर्फ ३१ अर्ब ४० करोड ४७ लाख विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा यही शीर्षकमा १६ अर्ब ७ करोड २० लाख विनियोजन गरिएको थियो।
वित्तीय व्यवस्थापनतर्फको बजेट कटौती गरेको विषयमा प्राधिकरणका महानिर्देशक अधिकारीले प्राधिकरणले लिएको ऋणको दायित्व अर्थात किस्ता र ब्याज तिर्न पुग्ने गरी मात्र बजेट राखिएको बताए।
‘हामीले विनियोजन गरेको रकमले किस्ता र ब्याज तिर्न पुग्ने हिसाब गरेर बजेट राखिएको छ,’ महानिर्देशक अधिकारीले भने, ‘अहिलेसम्म हामीले तिर्नुपर्ने सबै ठाउँमा नियमित तिरिरहेका छौँ।’
यस्तो छ बजेटको मुख्य प्राथमिकता
- उड्डयन तथा हवाई सुरक्षालाई सुदृढीकरण गर्दै आएकाले तोकेको विश्वव्यापी लक्ष्य बमोजिम नागरिक उड्डयन क्षेत्रको सेफ्टी, इफिसेन्सी एण्ड क्यापिसी अभिवृद्धि गर्ने।
- हवाई यातायात क्षेत्रको समयसापेक्ष रुपमा सुधार गर्न तथा यात्रुहरुलाई सहजीकरण गर्न पूर्वतयारी भइसकेको तथा अन्य महत्वपूर्ण आयोजनाको निर्माण, यन्त्र तथा उपकरणहरुको खरिद, जडान तथा सञ्चालन कार्यालय प्राथमिकता दिइएको।
- नागरिक उड्डयन क्षेत्रमा संलग्न सेवा प्रदायक निकायहरुको सेफ्टी म्यानेजमेन्ट सिस्टममा सुधार गरी नेपालको स्टेट सेफ्टी प्रोग्राममा समाविष्ट भएका लक्ष्यहरुलाई प्राथमिकरण गरिएको।
- नेपालको समग्र उड्डयन सुरक्षाको निगरानी प्रणालीलाई क्रमशः सुधार गरी प्रभावकारी कार्यान्वयन दरलाई थप वृद्धि गर्ने लक्ष्य लिइएको।
- सञ्चालनमा रहेका विमानस्थलको विद्यमान अप्रेशनल क्यापिसिटी विस्तार गर्न कम्युनिकेशन, नेभिगेशन, सर्भे लाइसेन्ससँग सम्बन्धित संरचना निर्माण तथा स्तरोन्नती गर्ने व्यवस्था गरिएको छ।