काठमाडौं । विकास साझेदार विश्व बैंकले नेपालको आर्थिक वृद्धि खुम्चिएर ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको छ । बैंकले पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्र विस्तार खुम्चिने अनुमान सार्वजनिक गरेको हो ।
गत वर्ष ०.२ प्रतिशतमा रहेको आर्थिक वृद्धिमा यो वर्ष केही सुधार आउनु जानकारी गराएको छ । कोभिड नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) ले आर्थिक गतिविधिमा विशेषगरी पर्यटन क्षेत्रमा, पुर्याएको अवरोधका कारण सन २०२० मा आर्थिक वृद्धि ०.२ प्रतिशत मात्र रहेको अनुमान सार्वजनिक गरेको हो ।
बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अद्यावधिक प्रतिवेदनअनुसार महामारीको असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको उल्लेख छ । विश्व बैंकले नेपालको अर्थव्यवस्थामा कोभिड १९ को सबैभन्दा कठोर प्रहार भएको उल्लेख गरेको छ ।
सरकारले चालु वर्षमा आर्थिक वृद्धि ७ प्रतिशत गर्ने लक्ष्य राखेको छ । कोरोना महामारी संक्रमण बढ्दै गएकाले यो लक्ष्य पूरा नहुने बैंकको प्रतिवेदनले देखाएको छ ।
यस्तै एसियाली विकास बैंक (एडीबी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पनि नेपालको आर्थिक विस्तार खुम्चिएर १.५ प्रतिशतमा सीमित हुने उल्लेख गरेको छ ।
‘महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भिसले भने ।
नेपालमा अनौपचारिक व्यवसायहरूमा करिब ५० प्रतिशत उद्यमहरू पर्छन् । यी उद्यमहरू अधिकांश श्रमजीवीहरूको कमाईको मुख्य स्रोत हुन् । यस समूह मध्ये, सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र सहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वव्यापी अर्थतन्त्र डिजिटल प्रविधितर्फ रुपान्तरण हुँदै गएको अवस्थामा सूचना प्रविधिको क्षमताका साथै विशिष्ट पर्यटन सेवाको मागमा वृद्धि हुने सम्भावना रहेको छ
पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन २०२० मा ७.७ प्रतिशत हुने आँकलनसहित प्रतिवेदनले दक्षिण एसिया भरी अपेक्षा गरिएको भन्दा निकै तिब्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रिय वृद्धि ४.५ रहने अनुमान छ ।
‘जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपुर्ति गर्ने छैन भन्ने यसले संकेत गर्द छ’ प्रतिवेदनमा भनिएको छ ।