काठमाडौं । गत साताको तुलनामा यो साता सेयर बजार १८ दशमलव ५९ अंक माथि उक्लिएको छ ।
साताको पाँच दिनको कारोबारमा तीनदिन बजार बढ्दा परिसूचकमा उक्त अंकको वृद्धि देखिएको हो । गत साताको अन्तिम दिनकाे कारोबार असोज १५ गते बिहीबार बजार १ हजार ५७१ दशमलव शून्य ४ विन्दुमा थियो ।
यो साताको अन्तिम कारोबार दिन असोज २२ गते बिहीबार भने बजार १ हजार ५८९ दशमलव ६३ विन्दुमा बन्द भएको हो । यो साताको कारोबारमा बजारले १ हजार ६०० विन्दु पार गरेको थियो । यसअघि फागुन १५ गते नेप्सेले उक्त विन्दु पार गरेको थियो । असोज २१ गते बुधबार १ हजार ६०० दशमलव ९७ विन्दुमा बन्द भएको बजार बिहीवार भने घटेको हो ।
यतिवेला सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेकाले पनि लगानीकर्ताहरु सम्भावित प्रतिफललाई ध्यानमा राखी कारोबारमा सहभागी भएको पाइएको छ । पछिल्लो समय सस्तो मूल्य भएका सेयरप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ ।
यो साता लघुवित्त र वित्त समूहका कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अलि बढी आकर्षण देखिएको छ । साताको पहिलो दिन आइतबार १४ दशमलव ७१ अंकले बढेको बजार दोस्रो दिन न्यून अंक ३ दशमलव ६३ अंकले घटेको थियो ।
तेस्रो दिन ४ दशमलव १७ अंक र चौथो दिन १४ दशमलव ६८ अंकले बढेको बजार अन्तिम दिन भने ११ दशमलव ३४ अंकले घटेर बन्द भएको छ । अन्तिम दिन लगानीकर्ताहरुले आफ्नो नाफा बुक गरेका छन् ।
लामो समय निरन्तर बजार घटेकाले पछिल्लो समय पनि लगानीकर्ताहरु निरन्तर बजार बढ्नेमा ढुक्क हुन सकेका छैनन् । केहि दिन निरन्तर बजार बढ्यो भने आत्तिएर नाफा बुक गर्ने लगानीकर्ताहरु बढेको ब्रोकरहरु बताउँछन् ।
‘बजारले उच्च विन्दु कायम गरेका बेला प्रवेश गर्ने लगानीकर्ताहरु यतिवेला आफ्नो पोर्टफोलियो ब्यालेन्समा आएको बताउन थालेका छन् । उनीहरुनै थोरै पोर्टफोलियो माथि जाने वित्तिकै आत्तिएर नाफा सुरक्षित गर्ने गर्छन् ।
पूर्ण प्रविधिमैत्री बनेको शेयर बजारमा अनलाइन लगानीकर्तानै १ लाखभन्दा बढी पुगिसकेका छन् । अहिले ब्रोकर अफिसमै धाएर कारोबार गर्ने लगानीकर्ताको संख्या ९० प्रतिशतले घटेको ब्रोकरहरु बताउँछन् । अहिलेकै अवस्थालाई हेर्दा बजारले निरन्तर गति लिने विश्वास पनि उनीहरुकोे छ ।
यो साता बजारमा रू. १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार बराबरको ५ करोड ४४ लाख १८ हजारर ६०३ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा कारोबार रकम ३ अर्ब २२ करोडभन्दा बढीले वृद्धि भएको छ भने सातामा करीब २२ लाख कित्ता बढी शेयर कारोबार भएको छ ।
गत साता रू. ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार बराबरको ५ करोड २२ लाख २५ हजार ३३३ कित्ता शेयर कारोबार भएको थियो ।
यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५९ अंकले माथि पुगेको छ । गत साताको अन्तिम कारोबार दिन ३१० दशमलव १५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३१४ दशमलव ७४ विन्दुमा पुगेको हो ।
सातामा तीन दिन बढेको बजारमा लगानीकर्ताको सम्पत्तिको मूल्य रू. २१ खर्ब १८ अर्ब ८० करोड १० लाख पुगेको छ । सातामा कुल बजार पुँजीकरण रकममा रू.२५ अर्ब ६५ करोड २० लाखले बृद्धि भएको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पुँजीकरण रकम रू. २० खर्ब ९३ अर्ब १४ करोड ९० लाख थियो ।
साताको कारोबारमा देखिएको परिवर्तनको अवस्था :

स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)