काठमाडौं । जापानको तोसिबा पावर कम्पनी प्रस्तावित ४९ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाबाट पछि हटेको छ । तोसिबाले सरकारको प्रत्याभूति (सोवरजियन ग्यारेन्टी) नपाउने भएपछि पछि हटेको हो । उसले सरकारको ग्यारेन्टी भए मात्र आयोजनामा लगानी गर्ने जानकारी गराएको छ ।
तोसिबाले सीई ग्रुपसँग साझेदारीमा मध्यमेवा आयोजना बनाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो । एमओयू गरेको तोसिबाले सरकारको ग्यारेन्टी खोजेको थियो । सरकारले हालसम्म कुनै पनि जलविद्युत् आयोजनालाई ग्यारेन्टी दिएको छैन ।
आयोजनामा ६० प्रतिशत स्वामित्व तोसिबाको हुने र ४० प्रतिशत स्वदेशी लगानी हुने भनिएको थियो ।
तोसिबाले सरकारको ग्यारेन्टी खोजेर आयोजनाबाट पछि हटेको सीई ग्रुपका अध्यक्ष विजय राजभण्डारीले बताए । सरकारले ग्यारेन्टी दिन नसक्ने उनले स्पष्ट पारे । तोसिबा नआए पनि आयोजना नेपाली लगानीमा बनाउनका लागि प्रक्रिया सुरु भएको उनले जानकारी दिए । तोसिबा पूरै फिर्ता भइसकेकाले अझै आउने सम्भावना रहेको उनले बताए ।
मेवा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत निर्माण हुन लागेको आयोजनामा हिमालयन बैङ्कको अगुवाइमा विभिन्न बैङ्कहरुको सहवित्तीयकरणमा ७ अर्ब रुपैयाँ ऋण लगानीको प्रक्रिया अघि बढेको उनले सुनाए । आगामी सेप्टेम्बरभित्र वित्तीय व्यवस्थापन भइसक्ने छ । सहवित्तीयकरणमा लगानी गर्न विभिन्न बैङ्कसँग छलफल भइरहेको छ । आगामी असोजसम्म लगानी जुटाउने काम सकिने राजभण्डारीको भनाइ छ ।
आयोजनाको अनुमानित लागत ९ अर्ब २६ करोड रुपैयाँ छ । ऋणबाहेक संस्थापकको स्वपुँजी (इक्विटी), आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर २ अर्ब २६ करोड रुपैयाँ जुटाउने योजना रहेको राजभण्डारीले बताए । आउँदो हिउँददेखि आयोजना निर्माणको काम सुरु गर्ने तयारी कम्पनीको छ ।
आयोजनाको सम्भाव्यता अध्ययन सकिएको र अहिले विस्तृत इन्जिनियरिङको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । जग्गा प्राप्ति र पहुँचमार्ग निर्माणको काम भइरहेको उनले सुनाए । आयोजना सन् २०२३ सम्म सक्ने लक्ष्य मेवा डेभलपर्सको छ ।
अर्धजलाशय आयोजनाले सुख्खायाममा पनि दैनिक ६ घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने छ । आयोजनको उचाइ ४६५ मिटर छ । आयोजना ताप्लेजुङ जिल्ला भएर बग्ने मेवाखोलामा छ ।