काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक नवीकरण शुल्क नबुझाउने २५ वटा कम्पनीको कारोबार रोक्का गरेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाइसक्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र शुल्क नबुझाएका कारण कारोबार रोक्का गरिएको नेप्सेले बताएको छ ।
यसअघि असोज १३ गतेनै सूचना जारी गरी वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेले सूचीकृत कम्पनीहरुलाई भनेको थियो । तोकिएको अवधिभित्र नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्नेसमेत नेप्सेले यस अघिको सूचनामा उल्लेख गरेको थियो ।
हालसम्म नविकरण नगर्ने कम्पनीहरुमा क्यापिटल मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल सेयर मार्केट्स, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति उद्योग, विराज सुज, बुटवल स्पाइनिङ्ग, फ्युर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायल कारखाना, हिमालय डिष्टिलरी, ज्योती स्पाइनिङ्ग मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, रघपछि जुट मिल्स, भृकुटी पल्स एण्ड पेपर, श्रीराम सुगर मिल्स, नेपाल वेयलफेयर, नेपाल ट्रेडिङ, याक एण्ड यति होटेल र नेपाल फिल्म डेभलपमेण्ट कम्पनी छन् ।
यीमध्ये धेरैजसो कम्पनीहरु सूचीकृत भए पनि कारोबारमा नआउने र धेरैजसो बन्द भइसकेका कम्पनीहरु छन् । नेप्सेका अनुसार ५० करोड रूपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीहरुलाई वार्षिक ५० हजार रूपैयाँ र ५० करोड रूपैयाँमाथि चुक्तापुँजी हुने कम्पनीहरुलाई वार्षिक १ लाख रूपैयाँ धितोपत्रको वार्षिक नवीकरण शुल्क लाग्नेछ ।
त्यस्तै डिवेन्चर तथा म्युचुअल फण्डका लागि ५० करोड रूपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीहरुको हकमा २५ हजार रूपैयाँ र ५० करोड रूपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीहरुको हकमा ५० हजार रूपैयाँ वार्षिक नवीकरण शुल्क लाग्ने गरेको छ ।
