काठमाडौं । कात्तिक महिनाको पहिलो दिन आइतबार सेयर बजार ५ दशमलव ६६ अंक घटेर बन्द भएको छ ।
यो दिन परिसूचक १ हजार ५५६ दशमलव ८० विन्दुमा बन्द भएको हो । ठूला कम्पनीहरुको मात्र कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ८१ अंक घटेर ३०८ दशमलव २७ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार बजार १ हजार ५६२ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । बिहीबार बजार १ दशमलव २९ अंकले बढेको थियो । नयाँ अर्थमन्त्रि विष्णुप्रसाद पैडेलको पुनः आगमनले उत्साहित भएका लगानीकर्ताहरु आइतबारको कारोबारमा भने पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ ।
गत बिहीबारदेखि अर्थमन्त्रिको पदभार सम्हालेका पौडेलले पुँजीबजारको थप विकासमा सहयोग पुर्याउने अपेक्षा लगानीकर्ताहरुको छ । आइतबारको बजार प्रभावित हुनमा नजिकिएको दसैंको खर्च जोहो गर्नेतर्फ लगानीकर्ता लागेको ब्रोकरहरुले अनुमान गरेका छन् ।
कोरोना महामारीका कारण अन्य व्यवसायिक अवस्था असमान्य बनेका कारण यो क्षेत्रको लगानी बिक्री गरी दसैं खर्च जोहो गर्ने धेरै लगानीकर्ता रहेको ब्रोकरहरु बताउँछन् ।
यो साताको कारोबार दसैं खर्च जोहो गर्नेहरुले प्रभावित गर्न सक्ने अनुमान जानकारहरुले लगाएका छन् । तर आगामी दिनमा बजारले उच्च विन्दु कायम गर्ने विश्वास उनीहरुको छ ।
आइतबार घटेको बजारमा जनरल इन्स्योरेन्स कम्पनीको सेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् ।
यो दिन तेस्रो कारोबार दिनमा पनि जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य आइतबार प्रतिकित्ता ३६ रूपैयाँले बढेर अन्तिम मूल्य ४०४ रूपैयाँ पुगेको हो ।
त्यस्तै रैराङ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७ दशमलव ५४ प्रतिशतले घटेको छ । प्रतिकित्ता १५ रूपैयाँले घटेर उक्त कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता १८४ रूपैयाँमा झरेको हो । आइतबार बजार बन्द हुँदा १२ वटा समूहगत परिसूचकमध्य व्यापारिक समूह र निर्जीवन बिमा समूहको बढेको छ भने बाँकी समूहको घटेको छ ।
यो दिन व्यापारिक समूहको १ दशमलव २५ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत परिसूचक बढेको हो । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १ दशमलव ४२ प्रतिशत घटेको छ ।
त्यस्तै विकास बैंकको शून्य दशमलव ४८ प्रतिशत, होटलको शून्य दशमलव १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३८ प्रतिशत, वित्तको शून्य दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४८ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४५ प्रतिशत, जीवन बिमाको शून्य दशमलव २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३४ प्रतिशत परिसूचक घटेको छ ।
आइतबार १८७ वटा कम्पनीको १ अर्ब २५ करोड २७ लाख ४८ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बराबरको ४३ लाख ५२ हजार १० कित्ता सेयर १६ हजार ८४६ पटकको व्यापारमा कारोबार भएको हो । कुल कारोबारमा सर्वाधिक हिस्सा हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरको रहेको छ ।
यो दिन प्रतिकित्ता ३ सय रूपैयाँमा २४ करोड ४५ लाख ५१ हजार ६ सय रूपैयाँ बराबरको ८ लाख १५ हजार १७२ कित्ता हिमालयन बैंकको संस्थापक सेयर खरिद बिक्री भएको हो । यो सेयर ज्योति ग्रूपले ब्रोकर नम्बर ४३ बाट बिक्री गरेको र ब्रोकर नम्बर ४० बाट कर्मचारी सञ्चय कोषले खरिद गरेको बुझिएको छ ।